एकल करातेमा एलिनालाई स्वर्ण

एकल करातेमा एलिनालाई स्वर्ण

काठमाडौं : कीर्तिपुर नगरपालिकाकी एलिना नाथिङले काठमाडौं जिल्लाव्यापी वृहत खेलकुदअन्तर्गत करातेको महिला एकल कातामा स्वर्ण पदक जितेकी छन्।

लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा बुधबार भएको फाइनलमा एलिनाले तार्केश्वर नगरपालिकाकी प्रसन्न फुयाललाई पराजित गर्दै पहिलो स्थान हात पारिन्। नागर्जुन नगरपालिकाकी वन्दना तामाङ र आयोजक काठमाडौं महानगरपालिका वडा २६ की मिस्टी श्रेष्ठ संयुक्त रूपमा तेस्रो भए।

प्रतियोगितामा शीर्ष तीन स्थान हासिल गर्ने खेलाडीहरूले क्रमशः ३० हजार, १५ हजार र ५/५ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन्।

महिला टिम कुमुतेतर्फ नागर्जुन नगरपालिकाको सोनाम शेर्पा, समीक्षा ढुंगाना, मोनिका लामा, आयुषा प्रधान र मनीषा लामाको टोली पहिलो भयो। काठमाडौं–३१ की महिमा राई, आशिका राई, दिया तामाङ, नानु चौधरी र रुक्साना दुनुवार दोश्रो स्थानमा रहँदा गोकर्णेश्वर र तार्केश्वर नगरपालिकाका संयुक्त टोली तेस्रो भए।

पहिलो हुने टिमले ५० हजार, दोश्रोले २५ हजार र तेस्रो हुने टिमहरूले १०/१० हजार नगद पुरस्कार प्राप्त गर्नेछन्।

दुईदिने कराते प्रतियोगितामा महिला दुई विधामा ८० जना खेलाडीले प्रतिस्पर्धा गरेका थिए। करातेका संयोजक सन्तोष श्रेष्ठका अनुसार वृहत खेलकुदमा समावेश पाँच खेलमध्ये टेबलटेनिस र कराते सम्पन्न भइसकेका छन्।

असार ४, २०८२ बुधबार १८:२८:१५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।