प्राविधिकको १५ लाख पारिश्रमिक बाँकी, तर प्रदीपलाई हिरो लिएर अमेरिकाबाटै सुदर्शनले घोषणा गरे ‘शुभ विवाह’

काठमाडौं : गत वर्ष प्रदर्शनमा आएको फिल्म ‘रावायण’ को लफडा अझै साम्य भएको छैन। फिल्म निर्माण घोषणादेखि नै यसमा विभिन्न समस्या देखिन थालेका थिए। अनमोल केसीलाई अनुबन्धपछिको विवाद होस् या उनलाई दुई दिन हिरासतमा राखिएको प्रकरण, यी समस्या सुरूबाटै थिए। प्रदर्शन भइसकेको एक वर्ष हुन लाग्दासम्म पनि फिल्मसँग जोडिएका विवाद कायमै छन्।
यही फिल्मका कारण अभिनेत्री पूजा शर्मा र निर्देशक सुदर्शन थापाबीच बोलचाल बन्द छ। उनीहरूबीच लगानी र नाफाघाटाको विषयमा विवाद छ। पूजाले बिना कागजी सम्झौता फिल्ममा एक करोडभन्दा बढी लगानी गरेको भनिएको छ भने प्राविधिकहरूले १५ लाखभन्दा बढी रकम पारिश्रमिक पाएका छैनन्। सुदर्शन थापाको टिमले ‘रावायण’को पैसा नदिएसम्म उनको नयाँ फिल्ममा काम नगर्ने पक्षमा छन्।
‘रावायण’का प्राविधिकले पारिश्रमिक नपाएको विषय चर्चामा रहँदा फिल्मका निर्माता/निर्देशक समेत रहेका थापा अमेरिकामा थिए। उनी अहिले पनि उतै छन्। अमेरिकाबाट नै उनले अभिनेता प्रदीप खड्कासँगको सहकार्यमा नयाँ फिल्म ‘शुभ विवाह’ निर्माण गर्ने घोषणा गरेका छन्।
यो फिल्मका लागि निर्देशक थापा र अभिनेता खड्काबीच एक वर्षअघि नै कागजी सम्झौता भएको थियो। त्यसको एक वर्षपछि निर्देशक थापाले अमेरिकाबाट नै फिल्मको घोषणा गरेका हुन्। निर्देशक थापा र अभिनेता खड्काको यो दश वर्षपछिको दोस्रो सहकार्य हो। दश वर्षअघि उनीहरूको सहकार्यमा फिल्म ‘प्रेम गीत’ निर्माण भएको थियो।
यसअघि यो फिल्ममा प्रदीप र पूजा शर्माको जोडी बाँधिने चर्चा चलेको थियो। सुदर्शन र पूजाबीच ‘रावायण’ अघि राम्रो सम्बन्ध भएकाले पूजालाई फिल्ममा खेलाउने वचन दिइएको थियो। तर, ‘रावायण’ मा भएको विवादका कारण अब फिल्ममा पूजा नहुने लगभग निश्चित भएको छ। पूजाको सट्टामा निर्देशक थापा नयाँ अभिनेत्रीको खोजीमा छन्। निर्देशक थापाले केही दिनमा अभिनेत्री फाइनल गर्ने बताएका छन्।
फिल्म ‘शुभ विवाह’ पनि प्रेम कथामा आधारित पारिवारिक कथावस्तुमा निर्माण हुनेछ। समाजको मूल्य मान्यता र नेपाली धर्म, संस्कृतिअनुसार विवाहको महत्वलाई फिल्ममा उजागर गरिने निर्देशकको भनाइ छ। थापाले यो फिल्मबाट आफूले यसअघि बनाएका ‘मेरो एउटा साथी छ’, ‘प्रेम गीत’ र ‘म यस्तो गीत गाउँछु’ जस्ता फिल्मको रेकर्ड तोड्ने लक्ष्य राखेका छन्।
‘रावायण’ को लफडा र प्राविधिकहरूको बाँकी पारिश्रमिकको समस्या कायमै रहँदा निर्देशक थापाको नयाँ प्रोजेक्ट ‘शुभ विवाह’ कत्तिको सहज बन्ला, त्यो हेर्न बाँकी छ।
असार ४, २०८२ बुधबार १४:३०:२५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।