इजरायली सेनाको दाबी- इरानका आणविक र हतियार उत्पादन स्थलमा आक्रमण गरियो

एजेन्सी : इजरायली सेनाले द्वन्द्वको छैटौं दिनमा इरानमा रहेका युरेनियम सेन्ट्रीफ्यूज उत्पादनस्थल र हतियार निर्माण सुविधाहरूमा आक्रमण गरेको जनाएको छ।
सेन्ट्रीफ्यूजहरू युरेनियम संवर्धन (संवृद्धीकरण) का लागि प्रयोग हुने महत्त्वपूर्ण मेसिनहरू हुन्।
इजरायली सेनाले एक विज्ञप्ति जारी गर्दै भनेको छ, ‘५० भन्दा बढी विमानहरूद्वारा गरिएका आक्रमणहरूले तेहरानमा रहेको सेन्ट्रीफ्यूज उत्पादन सुविधाका साथै अन्य धेरै हतियार उत्पादन स्थलहरूलाई लक्षित गरेका थिए।’
सेनाका अनुसार, सतहदेखि सतहमा मार हान्ने क्षेप्यास्त्र निर्माणका लागि आवश्यक पर्ने कच्चा पदार्थ र पार्टपुर्जा उत्पादन गर्ने सुविधाहरू पनि यस आक्रमणको निशानामा परेका थिए।
जुन १३ मा इजरायलले इरानको आणविक कार्यक्रमसँग सम्बन्धित लक्ष्यहरूमा आक्रमण गरेपछि दुई देशबीच तनाव र द्वन्द्व बढ्दै गएको छ।
बीबीसी मध्यपूर्व संवाददाता ह्युगो बाचेगाका अनुसार, द्वन्द्वको छैटौं दिनमा इजरायलले इरानमाथि आक्रमण तीव्र पारेको छ। यसैबीच, इरानले पनि इजरायलतर्फ थप क्षेप्यास्त्र प्रहार गरेको उनले बताएका छन्।
असार ४, २०८२ बुधबार १३:५२:२१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।