दर्शकहरू क्रिकेट हेर्दा हृदयाघात होस् भन्ने चाहँदैनन् : मुख्य प्रशिक्षक ल

काठमाडौं : नेपाल क्रिकेट टोलीका मुख्य प्रशिक्षक स्टुअर्ट लले क्रिकेट हेर्दा दर्शकले हृदयाघात होस् भन्ने नचाहेको बताएका छन्। पछिल्लो समय टोलीले खेलेका तनावपूर्ण खेलहरूपछि मुख्य प्रशिक्षक लको यस्तो भनाइ आएको हो।
‘कठिन पिचमा सानो योगफल, जस्तै ९७ रन, पछ्याउँदै गर्दा आठ विकेट गुमाउनु राम्रो होइन। खेल हाम्रो नियन्त्रणमै भए पनि दबाबमा निर्णय लिने प्रक्रियामा सुधार गर्नुपर्छ। क्रिकेटको खेल म यसरी खेल्न चाहन्न र मलाई पक्का विश्वास छ कि घरमा टिभी हेरिरहेका मानिसहरूले पनि यस्तो खेल हेर्दा हृदयाघात होस् भन्ने चाहँदैनन्’, स्कटल्यान्डमा इकान्तिपुर कुरा गर्दै उनले भने।
आईसीसी विश्वकप लिग २ र जारी तीनदेशीय टी२० सिरिजमा भएका दुई खेलमा भएका खेलहरू अन्तिम बल नफ्याँक्दासम्म अनुमानै गर्न नसिकने तनावपूर्ण अवस्थामा पुगेको थियो।
स्कटल्यान्डविरुद्धको जितमा ९७ रनको सानो योगफल पछ्याउँदा आठ विकेट गुमाउनु राम्रो संकेत नभएको भन्दै उनले खेल नियन्त्रणमै भए पनि दबाबमा निर्णय लिने प्रक्रियामा सुधार आवश्यक रहेकोमा जोड दिए। उनले टोलीको प्रदर्शनमा सुधारको आवश्यकता समेत औंल्याए।
लका अनुसार, पछिल्लो समय धेरै खेलहरू तनावपूर्ण अवस्थामा पुग्नुले पनि दबाब व्यवस्थापनमा कमजोरी देखिएको उनको भनाइ छ। भाग्यले सधैँ साथ नदिने भएकाले उच्च स्तरमा खेल्न र विश्वकप जस्ता प्रतियोगितामा छनोट हुन यस्ता कमजोरी सुधार्नुपर्ने आवश्यकता उनले औंल्याए। युके भ्रमण समग्रमा राम्रो भएको र अन्तिम दुई खेल अझ राम्रो शैलीमा अन्त्य गर्न सकेको भए अझ राम्रो हुने उनको भनाइ थियो।
नयाँ प्रशिक्षकको रूपमा खेलाडीहरूसँग पहिलो पटक काम गर्दा उनीहरूको मेहनत र प्रदर्शन उत्कृष्ट पाएको उनले बताए। मौसमले प्रशिक्षणमा बाधा पुर्याए पनि खेलाडीहरूले सहज रूपमा लिएर काम गरेकोमा उनी सन्तुष्ट छन्। दुई जित र एक हारसहितको यो भ्रमण विश्वकप छनोटको तयारीका लागि महत्वपूर्ण रहेको उनको भनाइ छ।
कु्राकानीकै क्रममा उनले आफू ‘शान्त ड्रेसिङ रुम’को अवधारणमा अघि बढ्ने बताए। विगत ३०-४० वर्षको अनुभवमा सफल टोलीहरूमा शान्त रहँदा दबाबमा राम्रो निर्णय हुने गरेको पाइएको उनले बताए।
उनले थपे, ‘म आफैँ पनि कराउने व्यक्ति होइन। शान्त वातावरणले खेलाडीहरूलाई राम्रो निर्णय लिन मद्दत गर्छ। अनावश्यक बैठक मनपर्दैन। अभ्यासकै क्रममा खेलाडीहरूले सुन्नुको सट्टा बुझेर तत्काल लागू गर्न सक्ने भएकाले यो शैली बढी लाभदायक छ।’
स्कटल्यान्ड भ्रमण विश्वकप छनोटका लागि खेलाडीहरूलाई नजिकबाट नियाल्ने राम्रो अवसर भएको लले बताए। पछिल्ला दुई खेलमा दुई खेलाडी रुपेश सिंह र किरण ठगुन्नालाई डेब्यू गराइएको र उनीहरूको अनुभव बढेको उनको भनाइ छ। अभ्यासभन्दा खेल खेल्नु बढी प्रभावकारी हुने र यसले वास्तविक खेलको तीव्रता प्रदान गर्ने उनले बताए।
आगामी वेस्ट इन्डिज विरुद्धको सिरिज नेपाल क्रिकेटका लागि निकै ठूलो कुरा भएको उनले बताए। फूल मेम्बरविरुद्ध पहिलो पटक सिरिज खेल्नु र दुई पटकको विश्व च्याम्पियनसँग प्रतिस्पर्धा गर्नु ओमानमा हुने विश्वकप छनोटअघि उत्कृष्ट तयारी हुने उनको भनाइ छ। वेस्ट इन्डिजसँग सिरिज गराउन लागेकोमा उनले नेपाल क्रिकेट संघ (क्यान) लाई धन्यवाद दिए।
विश्वकप छनोट हुने सम्भावनाबारे सोधिएको प्रश्नमा उनले मैदानमा उत्रिएपछि सबै टोलीसँग समान अवसर हुने भन्दै हरेक दिन आफ्नो उत्कृष्ट प्रदर्शन गर्नुपर्नेमा जोड दिए। छनोट प्रतियोगिताहरू कठिन हुने भए पनि यदि टोली शान्त रहेर आफ्नो भूमिका बुझेर मेहनत गर्न सकेमा राम्रो नतिजा आउनेमा विश्वस्त रहेको उनले बताए।
असार ४, २०८२ बुधबार १३:४१:१६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।