भारतद्वारा एलन मस्कको स्टारलिङ्कलाई लाइसेन्स प्रदान, कति पर्छ मूल्य?

एजेन्सी : भारत सरकारले एलन मस्कको स्याटेलाइट इन्टरनेट सेवा प्रदायक स्टारलिङ्कलाई इजाजतपत्र प्रदान गरेको छ। यस निर्णयले भारतमा ‘कनेक्टिभिटीको अर्को सीमा’ खोलेको त्यहाँका सञ्चारमन्त्रीले बताएका छन्।
पृथ्वीको निम्न कक्षमा रहेका उपग्रहहरू प्रयोग गरी दुर्गम स्थानहरूमा उच्च गतिको इन्टरनेट सेवा पुर्याउने लक्ष्य राखेको स्टारलिङ्कको भारत प्रवेशले मुलुकमा मूल्य निर्धारणदेखि स्पेक्ट्रम बाँडफाँटसम्मका विषयहरूमा तीव्र बहस सुरू गरेको छ।
भारतका सञ्चारमन्त्री ज्योतिरादित्य सिन्धियाले स्टारलिङ्कका मालिक स्पेसएक्सका अध्यक्ष तथा प्रमुख परिचालन अधिकारी ग्वेनी सटवेलसँग फलदायी बैठक गरेको जानकारी दिएका छन्।
मन्त्री सिन्धियाले मङ्गलबार मस्कको स्वामित्वमा रहेको सामाजिक सञ्जाल प्लेटफर्म एक्समा लेख्दै सटवेलले स्टारलिङ्कलाई दिइएको इजाजतपत्रको प्रशंसा गर्दै यसलाई ‘यात्राको उत्कृष्ट सुरुआत’ भनेका छन्।
यो अनुमति भारतका दुई ठूला टेलिकम सेवा प्रदायक, जिओ प्लेटफर्म र भारती एयरटेलले मार्चमा आफ्ना ग्राहकहरूलाई स्टारलिङ्क इन्टरनेट सेवा उपलब्ध गराउन स्पेसएक्ससँग सम्झौता गरेको घोषणापछि आएको हो।
यसैबीच, स्पेसएक्सका मालिक एलन मस्कले एसियाका सबैभन्दा धनी व्यक्ति र जिओ प्लेटफर्मका मालिक मुकेश अम्बानीसँग स्याटेलाइट स्पेक्ट्रम कसरी प्रदान गर्ने भन्ने विषयमा छलफल गरिसकेका छन्।
भारतीय सञ्चारमाध्यममा प्रकाशित केही रिपोर्ट अनुसार, स्टारलिङ्कले भारतीय बजारको लागि आफ्नो मूल्य निर्धारण संरचनालाई अन्तिम रूप दिएको छ। कम्पनीले स्याटेलाइट इन्टरनेट सेवाको लागि स्याटेलाइट डिश उपकरणको मूल्य लगभग ३३ हजार रुपैयाँ तोकेको बताइएको छ।
यसबाहेक, कम्पनीले आफ्नो मासिक असीमित डेटा योजनाको लागि तीन हजार रुपैयाँ शुल्क लिनेछ। बंगलादेश र भुटानमा पनि इन्टरनेट र उपकरणको मूल्य यही नै राखिएको छ।
असार ४, २०८२ बुधबार ११:५५:२० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।