इजरायल-इरान तनाव बढ्दा विश्व बजारमा तेलको मूल्य बढ्यो

एजेन्सी : इजरायल र इरानबीचको बढ्दो तनावका बीच अमेरिका पनि यसमा प्रत्यक्ष संलग्न हुँदा विश्व बजारमा कच्चा तेलको मूल्य वृद्धि भएको छ।
हालै, कच्चा तेलका दुई प्रमुख मापन मानकहरू, ब्रेन्ट नर्थ सी क्रुड र वेस्ट टेक्सास इन्टरमिडिएट (डब्लूटीआई) को मूल्यमा उल्लेख्य वृद्धि भयो। मंगलबार मात्र ब्रेन्टको मूल्य ४.४ प्रतिशत र डब्लूटीआईको मूल्य ४.३ प्रतिशतले बढ्यो। यो वृद्धिसँगै ब्रेन्ट तेलको मूल्य प्रति ब्यारेल ७६.४५ डलर र डब्लूटीआईको मूल्य ७४.८४ डलर पुगेको छ।
यो मूल्य वृद्धि हुनुका पछाडि इजरायल र इरानबीचको बढ्दो सैन्य गतिविधि प्रमुख कारण हो। गत शुक्रबारदेखि इजरायलले इरानका धेरै तेल र ग्याससम्बन्धी पूर्वाधारहरूमा हवाई हमला गरेको छ। जसमा साउथ पार्स ग्यासफिल्ड, फजर जाम ग्यास प्लान्ट, शाहरान तेल डिपो र सहर रे तेल रिफाइनरी जस्ता महत्वपूर्ण स्थानहरू सामेल छन्।
यद्यपि, अहिलेसम्म विश्वव्यापी तेल आपूर्तिमा खासै ठूलो अवरोध आएको छैन। तर, इजरायलको कारबाहीमा अमेरिका पनि प्रत्यक्ष जोडिने र त्यसले तनाव अझै खतरनाक मोडमा पुग्ने डरले विश्व बजारमा चिन्ता बढाएको छ।
अमेरिकी अधिकारीहरूले इरानको फोर्डोमा रहेको युरेनियम प्रशोधन केन्द्रमा सैन्य हमला गर्न सक्ने र इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनीको स्थान थाहा भए पनि अहिल्यै नमार्ने भन्ने बयान दिएपछि पनि अवस्था थप जटिल बनेको हो।
इरान विश्वमा कच्चा तेलको तेस्रो ठूलो भण्डार र प्राकृतिक ग्यासको दोस्रो ठूलो भण्डार भएको देश हो। अमेरिकी प्रतिबन्धका कारण इरानले आफ्नो तेल निर्यात क्षमताको पूर्ण सदुपयोग गर्न सकेको छैन। सन् २०२३ मा पनि इरानले दैनिक करिब ३९ लाख ९० हजार ब्यारेल कच्चा तेल उत्पादन गरेको थियो, जुन विश्वको कुल उत्पादनको करिब ४ प्रतिशत हो।
भौगोलिक रूपमा इरान होर्मुज जलडमरूमध्य मा अवस्थित छ। यो जलडमरूमध्य विश्वभरको तेल ढुवानीका लागि निकै महत्वपूर्ण मानिन्छ, जहाँबाट विश्वको कुल तेल ढुवानीको २० देखि ३० प्रतिशतसम्म आवतजावत गर्छ।
इरानको लगभग सबै तेल निर्यात खर्ग आइल्याण्डमा रहेको टर्मिनलबाट हुन्छ, जुन अहिलेसम्म इजरायली हमलाबाट बचेको छ। तर, यदि यो क्षेत्र प्रभावित भएमा विश्वव्यापी तेल आपूर्तिमा ठूलो संकट आउन सक्ने डर छ।
असार ४, २०८२ बुधबार १०:११:३२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।