असोज मसान्तभित्र प्याराग्लाइडर दर्ता गर्न क्यानको आग्रह, नगरे अवैध घोषणा गरी कारबाही गरिने

काठमाडौं : नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले नेपालमा सञ्चालनमा रहेका प्याराग्लाइडिङ कम्पनीहरूलाई आफ्नो स्वामित्वमा रहेका सम्पूर्ण प्याराग्लाइडर अनिवार्य दर्ता गराउन निर्देशन दिएको छ।
प्राधिकरणले आगामी आर्थिक वर्ष २०८१/८२ सुरू भएदेखि तीन महिनाभित्र यो प्रक्रिया पूरा गर्न समयसीमा तोकेको छ। क्यानको फ्लाईट सेफ्टी स्ट्याण्डर्ड्स विभागले गोरखापत्रमा सूचना निकालेर मनोरञ्जनात्मक उड्डयन नियमावली, २०६९ तथा रिक्रियशनल एभिएसन अपरेटर सर्टिफिकेट रिक्वायरमेन्ट्स, २०२५ बमोजिम यो व्यवस्था लागू गरिएको जनाइएको छ।
संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट सञ्चालन इजाजत र क्यानबाट मनोरञ्जनात्मक उड्डयन सञ्चालन प्रमाणपत्र तथा उड्डयन प्रशिक्षण संस्था सञ्चालन प्रमाणपत्र प्राप्त गरेका कम्पनीहरूले आफ्नो मातहतमा रहेका सम्पूर्ण सोलो र ट्यान्डेम प्याराग्लाइडर क्यानको फ्लाईट सेफ्टी स्ट्याण्डर्ड्स विभागमा दर्ता गराउनुपर्नेछ।
प्राधिकरणले तोकिएको समय अर्थात असोज मसान्तसम्म दर्ता नगरिएका प्याराग्लाइडरलाई गैरकानूनी घोषणा गरी प्रचलित ऐन तथा नियमावली बमोजिम आवश्यक कारबाही गरिनेसमेत स्पष्ट पारेको छ। क्यानले सम्पूर्ण सरोकारवाला वर्गलाई समयमै प्याराग्लाइडर दर्ता प्रक्रियामा सहभागी हुन आग्रह गरेको छ।
असार ४, २०८२ बुधबार ०९:५१:१६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।