कैलाली कारागारमा थुनुवाको शंकास्पद मृत्यु, शरीरभरी नीलडाम र चोटपटक

कैलाली कारागारमा थुनुवाको शंकास्पद मृत्यु, शरीरभरी नीलडाम र चोटपटक

कैलाली : बैंकिङ कसुरमा कैलाली कारागारमा रहेका डडेल्धुराका २८ वर्षीय व्यवसायी हरिश सिंह पालीको शंकास्पद मृत्यु भएको छ।

सेती प्रादेशिक अस्पतालमा राखिएको शवमा नीलडाम र चोटपटक भेटिएकाले आफन्तले कारागारभित्र यातनाका कारण मृत्यु भएको आरोप लगाउँदै निष्पक्ष छानबिनको माग गरेका छन्।

केही दिनअघि पक्राउ परी कारागार चलान गरिएका पाली असार २ गते राति बिरामी भएपछि अस्पताल पुर्याइएका थिए। प्रहरीले उपचारका क्रममा मृत्यु भएको बताए पनि परिवारले यसलाई सामान्य मृत्यु नभई पूर्वनियोजित हत्या भएको दाबी गरेको छ।

प्रहरी नायब निरीक्षक हरिजित नाथले रकम माग्ने गरेको र मृत्यु हुनु केही घण्टाअघि असार २ गते नै ८५ हजार रुपैयाँ नाथको खातामा पठाइएको मृतकका आफन्तको भनाइ छ।

सई नाथले भने अदालतको फैसलाअनुसार रकम बुझाउन परिवार राजी भएको बताए। आफन्तले सई नाथको भारतीय व्यापारीसँग पनि सेटिङ हुने गरेको आरोप लगाएका छन्।

कारागार प्रशासनले सीसीटीभी फुटेज बिग्रिएको भन्दै नदेखाएपछि आफन्तको आशंका झनै बढेको छ। परिवारले निष्पक्ष छानबिन र दोषीलाई कारबाही नभएसम्म शव नबुझ्ने अडान लिएको छ। शव दुई दिनदेखि अस्पतालमै छ।

मृतकका श्रीमती र एक छोरा छन्।

असार ४, २०८२ बुधबार ०९:२९:०३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।