इजरायली आक्रमणबाट इरानमा मात्र ४५२ जनाको मृत्यु, ६४६ जना घाइते

इजरायली आक्रमणबाट इरानमा मात्र ४५२ जनाको मृत्यु, ६४६ जना घाइते

एजेन्सी : इरान र इजरायलबीचको द्वन्द्व बढ्दै जाँदा दुवै देशमा भएको हताहतीको नयाँ तथ्याङ्क सार्वजनिक भएको छ। विभिन्न स्रोतबाट प्राप्त विवरण अनुसार सयौं मानिसको ज्यान गएको दाबी गरिएको छ।

इरानको मानवअधिकारमा काम गर्ने गैर-नाफामुखी संस्था ‘ह्युमन राइट्स एक्टिभिस्ट इन इरान’ले दुई देशबीचको बम विस्फोट सुरू भएदेखि इरानमा भएको हताहतीको सङ्ख्या ट्र्याक गरिरहेको जनाएको छ। उसका अनुसार इजरायली आक्रमणका कारण इरानमा ठूलो सङ्ख्यामा मानिसको ज्यान गएको छ।

उक्त संस्थाले उपलब्ध गराएको तथ्याङ्क अनुसार, इजरायली आक्रमणमा २२४ सर्वसाधारणको मृत्यु भएको छ भने १८८ जना घाइते भएका छन्। यसैगरी, १०९ इरानी सैन्य कर्मचारी मारिएको र १२३ जना घाइते भएको पनि उनीहरूले बताएका छन्।

यसबाहेक, ११९ जना यस्ता व्यक्ति मारिएका छन्, जसको पहिचान अझै हुन सकेको छैन। एचआरएनएको तथ्याङ्क अनुसार, इजरायली हमलाका कारण इरानमा कुल ४५२ जनाको मृत्यु भएको छ भने ६४६ जना घाइते भएका छन्।

यसैबीच, इरानको सरकारी मिडियाले भने अहिलेसम्म मृत्युको संख्याको बारेमा कुनै आधिकारिक जानकारी सार्वजनिक गरेको छैन।

अर्कोतर्फ, इजरायलमा पनि भएको हताहतीको विवरण सार्वजनिक भएको छ। इजरायलको स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार, सोमबार रातिदेखि १५४ जना घाइतेहरूलाई इजरायलका विभिन्न अस्पतालमा भर्ना गरिएको छ।

इजरायलले शुक्रबारदेखि इरानी आक्रमणमा परी आफ्ना कम्तीमा २४ जना नागरिकको मृत्यु भएको दाबी गरेको छ।

असार ४, २०८२ बुधबार ०७:४४:०४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।