यी चार प्रदेशका एक-दुई स्थानमा धेरै भारी वर्षाको सम्भावना

काठमाडौं : जल तथा मौसम पूर्वानुमान महाशाखाले आज र भोलि बिहानसम्म देशभर वर्षा जारी रहने तथा केही प्रदेशमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ।
महाशाखाका अनुसार हाल कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका केही भाग तथा लुम्बिनी प्रदेशका पूर्वी क्षेत्रमा मनसुनी वायुको प्रभाव रहेको छ।
साथै देशका पश्चिमी भागमा पश्चिमी तथा स्थानीय वायुको आंशिक प्रभाव र भारतको पश्चिम बङ्गाल आसपास बनेको न्यूनचापीय क्षेत्रको समेत प्रभाव रहेको छ।
दिउँसो देशभरको मौसम साधारणतया बदली रहनेछ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थान र अन्य प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।
दिउँसो कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा भने भारीदेखि धेरै भारी वर्षा हुनसक्नेछ। यस्तै, देशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।
यसैगरी, आज राति देशभर साधारणतया बदलीदेखि पूर्ण बदली रहनेछ। राति कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थान तथा अन्य प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।
राति कोशी, मधेस, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारीदेखि धेरै भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ। उच्च पहाडी तथा हिमाली भूभागमा भने कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थान तथा अन्य प्रदेशका एकदुई स्थानमा हल्का वर्षाका साथै हिमपातको सम्भावना रहेको छ।
असार ४, २०८२ बुधबार ०७:२३:४५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।