‘ट्रम्पले इरानविरुद्ध थप कदम चाल्न सक्ने’

एजेन्सी : अमेरिकी उपराष्ट्रपति जेडी भान्सले राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको आणविक कार्यक्रम रोक्न ‘थप कदम’ चाल्ने निर्णय गर्न सक्ने बताएका छन्।
मङ्गलबार एक्समा लेख्दै भान्सले भनेका छन्, ‘राष्ट्रपतिले हाम्रो सेना र नागरिकको सुरक्षालाई प्राथमिकतामा राख्दै उल्लेखनीय संयमता देखाउनुभएको छ। तर अब इरानको युरेनियम संवर्द्धन अन्त्य गर्न थप कदम चाल्नु आवश्यक हुन सक्छ।’
भान्सको यस्तो अभिव्यक्ति इरान र इजरायलबीचको तनाव चुलिँदो अवस्थामा आएको हो।
त्यसैबीच, इरानी राजधानी तेहरानमा मङ्गलबार ठूला विस्फोटका आवाजहरू सुनिएको इरानी सञ्चारमाध्यमहरूले जनाएका छन्। लगातार पाँचौं दिन पनि इजरायलले इरानमाथि हवाई आक्रमण गरिरहेकै अवस्थामा यस्तो विस्फोट भएको हो।
इजरायली आक्रमणका कारण इरानभर इन्टरनेट सेवा व्यापक रूपमा अवरुद्ध भएको छ। ‘धेरै प्रान्तका प्रयोगकर्ताहरूले इन्टरनेट ठप्प भएको रिपोर्ट गरिरहेका छन्,’ इरानी पत्रिका ‘हाम मिहान’ ले लेखेको छ। अन्य सञ्चारमाध्यमहरूले पनि यस्तै विवरण दिएका छन्।
शुक्रबारदेखि इजरायलले इरानी सेना र आणविक केन्द्रहरूलाई लक्षित गरी अभूतपूर्व हवाई आक्रमण सुरु गरेसँगै इन्टरनेट सेवामा बाधा परेको हो। यद्यपि इन्टरनेट अवरोधको सटिक कारण भने सार्वजनिक भएको छैन।
असार ३, २०८२ मंगलबार २२:०३:०९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।