काठमाडौं महानगरको ४४ लाखको एनेस्थेसिया टेन्डरको डकुमेन्ट सार्वजनिक खरिदको सिस्टममै छैन, प्रक्रिया नै शंकास्पद

काठमाडौं महानगरको ४४ लाखको एनेस्थेसिया टेन्डरको डकुमेन्ट सार्वजनिक खरिदको सिस्टममै छैन, प्रक्रिया नै शंकास्पद

काठमाडौं : काठमाडौं महानगरपालिकाले खरिद प्रक्रिया अगाडि बढाएको ‘एनेस्थेसिया मेसिन’को टेन्डरको प्रक्रिया नै शंकास्पद देखिएको छ। उकेरालाई प्राप्त टेन्डर कागजात अनुसार महानगरपालिकाले २०८२ जेठ २२ मा करिब ४४ लाखमा दुई सेट ‘एनेस्थेसिया मेसिन’ खरिदका लागि टेन्डर आह्वान गरेको देखिन्छ।

टेन्डर पक्रिया शंकास्पद त छ नै, थप यसको कागजात सार्वजनिक खरिद अनुगमन कार्यालय (पिपिएमओ) को विद्युतीय प्रणालीमा समेत भेटिएन। महानगरपालिकाको टेन्डर कागजात अनुसार उसले जेठ २२ मा टेन्डर आह्वान गरेको देखिन्छ। तर ‘एनेस्थेसिया मेसिन’को टेन्डरको कागजात ‘पिपिएमओ’को सार्वजनिक विद्युतीय प्रणालीमा भेटिएन।

तर पीपीएमओको विद्युतीय प्रणालीमा महानगरका अन्य विभिन्न टेन्डर कागजातहरू भने छन्। महानगरपालिकाको कार्यालयले आह्वान गरेको ‘एनेस्थेसिया मेसिन’को ठेक्का (आइएफबी) नम्बर ’०९-११-२०८१-८२–एनसीबीजी-हेल्थ-केएमसी’ हो। यो टेन्डरमा ‘दी सप्लाई, डेलिभरी एन्ड इन्स्टलेशन अफ एनेस्थेसिया मेसिन फर कीर्तिपुर अस्पताल’ लेखिएको छ। टेन्डर कागजातमा हेर्दा महानगरपालिकाले ‘एनेस्थेसिया मेसिन’ खरिद गरेर कीर्तिपुर अस्पताललाई अनुदान दिने तयारी रहेको देखिन्छ।

पीपीएमओका प्राविधिकतर्फका एक कर्मचारीसँग यसबारे बुझ्दा विद्युतीय प्रणालीमा महानगरले टेन्डर आह्वान गरेको ‘ऐनस्थेसिया मेसिन’को टेन्डर नम्बर र ‘ऐनस्थेसिया मेसिन’ नाम भएको टेन्डर कागजात प्रकाशितै भएको फेला परेन।

अनौपचारिक कुराकानीका क्रममा पीपीएमओका एक कर्मचारीले यो नम्बरको टेन्डर सिस्टममा न देखिएको भन्दै महानगरपालिकामा नै बुझ्न सुझाव दिए। यस विषयमा महानगरपालिकाका एक कर्मचारीले पीपीएमओको प्रणालीमा यो टेन्डरको कागजात नभएकोबारे थाहै नभएको बताए।

‘पीपीएमओमा नै नहुनु त ब्लन्डर हो,’महानगरपालिकाका ती कर्मचारीले नाम उल्लेख नगर्न आग्रह गर्दै भने,‘के भएको रहेछ, म बुझ्छु।’ उनले महानगरबाट ‘ऐनस्थेसिया मेसिन’को टेन्डर आह्वान भएको पुष्टि गरे।

उकेराले प्राप्त गरेको टेन्डर कागजपत्र अनुसार महानगरपालिकाले असार ११ गते दुई बजेलाई ‘एनेस्थेसिया मेसिन’को ‘प्रि–बिड  मिटिङ’को समय तोकेको छ। ‘प्रि-बिड मिटिङ’मा सप्लायर्सहरुलाई चित्त नबुझेको खण्डमा स्पेसिफिकेसन संशोधनको माग गर्न सक्छन्।

सप्लायर्सले स्पेसिफिकेसन संशोधनको माग गरेको खण्डमा आवश्यकता अनुसार मेसिन खरिद गर्ने संस्थाले स्पेसिफिकेसन संशोधन गर्न सक्छ। तर, पीपीएमओको विद्युतीय प्रणालीमा नै सार्वजनिक नभएपछि कसरी थाहा पाएर प्रिबिड मिटिङमा जानु अनि कसरी टेन्डर प्रस्ताव गर्नु।

उसले असार २२ दिउसो १२ बजेसम्मलाई टेन्डर प्रस्ताव गरिसक्नुपर्ने मिति तोकेको छ भने सोही दिन दिउँसो दुई बजेलाई टेन्डर खुल्ने मिति तोकेको छ। एनेस्थेसिया मेसिन शल्यक्रिया गर्नुपर्ने बिरामीलाई बेहोस गराउने तथा बेहोस बनाएको बेला श्वासप्रश्वासमा सहजता गराउने मेसिन हो। त्यसैगरी यसले भेन्टिलेटरको पनि काम गर्छ।

नियमको छिद्र समातेर एनेस्थेसिया मेसिनको खरिद

महानगरपालिकाले खरिद प्रक्रिया अगाडि बढाएको ‘एनेस्थेसिया मेसिन’का विभिन्न सर्तहरू हेर्दा बदनियत नै बदनियत देखिन्छ। यो टेन्डरको प्राविधिक स्पेशिफिकेशनको लक्ड त दोस्रो पाटो भयो, खरिद प्रक्रियामै शंकास्पद गतिविधि देखियो।

टेन्डर प्रस्तावको दृष्टिले ‘सिङ्गल-स्टेज: सिङ्गल इन्भेलोप बिडिङ प्रोसेड्युर’ र ‘सिङ्गल–स्टेज: टु इन्भेलोप बिडिङ प्रोसेड्युर’ गरी दुई किसिमका खरिद विधि हुन्छन्। उकेरालाई प्राप्त महानगरको टेन्डर कागजातमा उल्लेख भए अनुसार  ‘एनेस्थेसिया मेसिन’को टेन्डरमा नियम नै पेलपाल बनाएर ‘सिङ्गल-स्टेज: सिङ्गल इन्भेलोप बिडिङ प्रोसेड्युर’ अपनाएको छ।

सार्वजनिक खरिद नियमावली अनुसार ‘सिङ्गल-स्टेज: सिङ्गल इन्भेलोप बिडिङ प्रोसेड्युर’ भनेको ‘एक खाम विधि’ अपनाई गरिने खरिद प्रक्रिया हो। यसमा आर्थिक र प्राविधिक प्रस्ताव एकै पटक खुल्छ। महानगरले यो खरिदमा यही विधी अपनाएको छ। महानगरले चाहेको भए ‘एनेस्थेसिया मेसिन’को खरिदमा सिङ्गल–स्टेज: टु इन्भेलोप बिडिङ प्रोसेड्युर’ अपनाउन सक्थ्यो।

पिपिएमए र महानगरले निकालेको टेण्डरको कागज।सार्वजनिक खरिद नियमावली, २०७४ को नियम ‘३१ज’ मा दुई खाम विधिबाट गरिने खरिदको कार्यविधिका बारेमा उल्लेख छ। नियम ‘३१ज’ को उपनियम (१) मा भनिएको छ,‘बोलपत्रदाताको योग्यताको आवश्यक पर्ने किसिमको मालसामान खरिद वा दुई करोड रूपैयाँभन्दा बढीको निर्माण कार्य गर्नुपर्दा बोलपत्रदाताले प्राविधिक र आर्थिक प्रस्ताव दुई अलग अलग खाममा राखी पेस गर्नुपर्ने छ।’

यो खरिद दुई करोड भन्दा कम मूल्यको भए पनि बोलपत्रदाताको योग्यता आवश्यक पर्ने देखिन्छ। तर, यो नियमलाई लत्याउँदै महानगरले ‘एनेस्थेसिया मेसिन’को खरिदमा एक खाम विधि अपनाएको छ।

नियम अनुसार प्राविधिक र आर्थिक दुवै मूल्याङ्कनको चरणमा छनोट भएको सप्लायर्स कम्पनीलाई टेन्डर आह्वान गर्ने संस्थाले टेन्डर दिन्छ। टेन्डर स्वीकृत पछि निश्चित प्रक्रिया पूरा गरेर टेन्डर पाउने सप्लायर्स कम्पनीले सामग्री ल्याएर जडान गरिदिने लगायतको काम गर्नुपर्ने हुन्छ।

तर, महानगरपालिकाले भने यो टेन्डरमा प्राविधिक र आर्थिक दुवै एकैचोटी मूल्याङ्कन गरेर चाहेकै कम्पनीको ‘एनेस्थेसिया मेसिन’ छनोट गरेर सेटिङ अनुसारकै कम्पनीलाई टेन्डर दिने रणनीति देखिन्छ।

दुई खाम विधिबाट गरिने खरिदमा नियम अनुसार टेन्डरको लागि सप्लायर्स कम्पनीले प्राविधिक र आर्थिक दुवै प्रस्ताव छुट्टाछुट्टै गर्नुपर्ने हुन्छ। टेन्डर प्रस्ताव भइसकेपछि पहिले टेन्डर प्रस्ताव गरेका सप्लायर्स कम्पनीहरूको प्राविधिक मूल्याङ्कन हुन्छ। प्राविधिक मूल्याङ्कनमा टेन्डर गर्ने संस्थाले टेन्डर आह्वान गर्दा सार्वजनिक गरेको स्पेसिफिकेसन अनुसारको प्राविधिक पक्षको मूल्याङ्कन गर्छ।

मिलेमतो बिनाको खरिदमा सामान्यतया प्राविधिक रूपमा एक भन्दा बढी सप्लायर्स कम्पनी छनोट हुन सक्छन्। प्राविधिक मूल्याङ्कन भएपछि मात्रै आर्थिक प्रस्ताव खुल्छ।

प्राविधिक मूल्याङ्कनमा छनोट भएका सप्लायर्स कम्पनी मात्रैको आर्थिक मूल्याङ्कन हुन्छ। प्राविधिक मूल्याङ्कनको चरणमा एक भन्दा बढी टेन्डर प्रस्ताव गर्ने कम्पनी छनोट भएको अवस्थामा जुन सप्लायर्स कम्पनीले कम मूल्यमा गुणस्तरीय सामग्री ल्याइदिने गरी रकम कबुल गरेर टेन्डर प्रस्ताव गर्छ उसैले टेन्डर पाउँछन् र निश्चित खरिदको प्रक्रिया पूरा गरी सामग्री ल्याइदिन्छन्।

तर, काठमाडौं महानगरपालिकाले टेन्डर प्रक्रिया अगाडि बढाएको ‘एनेस्थेसिया मेसिन’को सवालमा भने टेन्डर प्रस्ताव गर्ने कम्पनीले एउटै टेन्डर कागजातमा प्राविधिक र आर्थिक प्रस्ताव गर्नुपर्ने गरी टेन्डर आह्वान गर्यो। यो टेन्डर यही अवस्थामा अघि बढे सप्लायर्सले प्राविधिक र आर्थिक दुवै प्रस्ताव छुट्टाछुट्टै गर्नै पाउँदैनन्।

त्यसैले महानगरले ‘एनेस्थेसिया मेसिन’ खरिदको लागि गरेको यो टेन्डरमा प्राविधिक र आर्थिक  प्रस्ताव एकै पटक खुल्ने भएको छ। यसरी हेर्दा महानगरका निश्चित कर्मचारीको मिलेमतोमा प्राविधिक र आर्थिक प्रस्ताव एकै पटक खोलेर चाहेकै सप्लायर्स कम्पनीलाई टेन्डर दिने रणनीति लिएको देखिन्छ।

प्राविधिक र आर्थिक दुवै प्रस्ताव एकै पटक गर्ने अनि एकै पटक प्राविधिक र आर्थिक प्रस्ताव खोलेर बढी रकममा ‘एनेस्थेसिया मेसिन’ ल्याइदिने कबुल गर्ने कम्पनीलाई समेत प्राविधिक रूपमा सजिलै गरी छनोट गर्ने रणनीति देखिन्छ।

त्यति मात्रै हैन एक खाम विधि अपनाउँदा जुन सप्लायर्स कम्पनीलाई टेन्डर दिन चाहेको हो त्यस्तो सप्लायर्सले पेस गरेको प्राविधिक स्पेशिफिकेशनमा केही कमजोरी रहेछन् भने पनि त्यस्तो कम्पनीको प्राविधिक स्पेसिफिकेसन तानतुन गरेर मूल्याङ्कन गरी छनोट गर्न सक्ने जोखिम देखिन्छ।

अन्तर्राष्ट्रिय बोलपत्रलाई निषेध र आपूर्तिको समयमा चलखेल

महानगरपालिकाले ‘एनेस्थेसिया मेसिन’को यो टेन्डरमा मापदण्ड र समय दुवैमा मिलेमतोको बदनियत  देखिन्छ। महानगरले ‘ऐनस्थेसिया मेसिन’को टेन्डरमा अन्तर्राष्ट्रिय स्तरको बोलपत्र (इन्टरनेश्नल कम्पेटिटिभ बिडङ-आइसिबी)लाई निषेध गर्दै ‘राष्ट्रियस्तरको बोलपत्र (नेश्नल कम्पिटेटिभ बिडिङ-एनसीबी)मा खुम्च्याएको छ।

तर, महानगरपालिकाले ‘एनेस्थेसिया मेसिन’को टेन्डरमा खरिद स्वीकृत भएर मेसिन ल्याउन निर्देशन दिएको ‘३०’ दिन भित्र मेसिन ल्याइदिनुपर्ने अनौठो सर्त राखेको छ। टेन्डर कागजातमा ‘विद्इन ३० डेज आफ्टर दी इस्युन्स अफ डेलिभरी अर्डर’ उल्लेख छ।

यसबाट नै मिलेमतो अनुसार ढिलो टेन्डर गरी खरिद प्रक्रिया अगाडि बढाउँदै टेन्डर स्वीकृत भएर मेसिन ल्याउन निर्देशन दिएको मितिदेखि ३० दिन सम्मको छोटो समय राखेर नेपालमा पहिल्यै ल्याएको वा यता खरिद प्रक्रिया अगाडि बढाउँदै उता मेसिन ल्याउने प्रक्रिया पनि अगाडि बढाउने रणनीति लिएको देखिन्छ।

किनकि नेपालमा ‘एनेस्थेसिया मेसिन’ मेसिन बन्दैन। विदेशबाट नै ल्याउने हो। सप्लायर्सले टेन्डर पाएपछि नै यो मेसिन ल्याउने प्रक्रिया अगाडि बढाउने हो।

अन्तर्राष्ट्रिय प्रतिस्पर्धालाई निषेध गर्दै राष्ट्रिय प्रतिस्पर्धा (एनसीबी)मा मात्रै खुम्च्याउने अनि मेसिन ल्याउन निर्देशन दिएको ३० दिन मित्र भित्र  ‘ऐनस्थेसिया मेसिन’ ल्याइसक्नुपर्ने सर्त राख्नु नै मिलेमतो भएको शङ्का गर्ने थप आधार हो।

रमाइलो पक्ष त, यो मेसिनको टेन्डर प्रस्ताव गरिसक्नुपर्ने अन्तिम मिति असार २२ दिउँसो १२ बजेसम्मलाई तोकिएको छ भने सोही दिन दिउँसो दुई बजेलाई टेन्डर खुल्ने मिति तोकिएको छ।  ‘एनेस्थेसिया मेसिन’को टेन्डरमा नियम नै पेलपाल बनाएर ‘सिङ्गल-स्टेज : सिङ्गल इन्भेलोप बिडिङ प्रोसेड्युर’ अपनाएकाले प्राविधिक र आर्थिक दुवै मूल्याङ्कन एकै पटक हुने अवस्था छ।

यही प्रक्रिया अपनाउन पनि त टेन्डर प्रस्ताव भएको कम्तीमा एक हप्ताको समय लाग्छ। यसरी हेर्दा ‘एनेस्थेसिया मेसिन’को यो टेन्डर प्रक्रिया फटाफट अगाडि बढ्दा पनि असार अन्तिममा मात्रै टेन्डरको मूल्याङ्कनको चरण पूरा हुन सक्ने देखिन्छ।

खरिद स्वीकृत भएर सम्झौता भएपछि मात्रै मेसिन ल्याउने प्रक्रिया सुरु हुन्छ। यही अवस्थामा नै खरिद प्रक्रिया अगाडि बढेको खण्डमा महानगरपालिकाले टेन्डर सम्झौता गरेर मेसिन ल्याउन निर्देशन दिएको ३० दिन भित्र मेसिन ल्याइसक्नुपर्ने सर्त राखेकाले साउन अन्तिम सातासम्ममा मेसिन ल्याइदिनुपर्ने देखिन्छ।

यो सर्त राख्नुको उद्देश्य खरिद प्रतिस्पर्धा सीमित बनाउने कुनियत प्रस्टै देखिन्छ। महानगरपालिकाले खरिद प्रक्रिया अगाडि बढाएको ‘एनेस्थेसिया मेसिन’को टेन्डर अन्तर्राष्ट्रिय स्तरको बोलपत्र (इन्टरनेश्नल कम्पेटिटिभ बिडिङ (आइसिबी) नभई ‘राष्ट्रिय स्तरको बोलपत्र (नेश्नल कम्पिटेटिभ बिडिङ (एनसीबी) हो।

महानगरले आह्वान गरेको टेन्डर राष्ट्रियस्तरको भएको अनि ‘एनेस्थेसिया मेसिन’ नेपालमा नबन्ने भएकाले ल्याउने विदेशबाटै हो। खरिद सम्झौतापछि मात्रै यो मेसिन आयात गर्ने प्रक्रिया सुरु हुने र अति चाँडो गर्दा पनि मेसिन आइपुग्न कम्तीमा डेढ महिना लाग्न सक्छ।

३० दिनमा मेसिन ल्याइदिनु पर्ने सर्त राखिएकाले यो सर्त कार्यान्वयन गर्दा यो आर्थिक वर्ष कटिसक्छ। यो बहुवर्षे किसिमले गर्नुपर्ने खरिद पनि देखिँदैन। त्यसैले अघिल्लो आर्थिक वर्षबाट सुरु भएको यसको खरिद बहुवर्षे जसरी अर्को आर्थिक वर्षमा भुक्तानी गर्ने गरी प्रक्रिया अगाडि बढाएको देखिन्छ।

मिलेमतोमा खरिद प्रक्रिया अगाडि बढेको टेन्डर पहिल्यै कसले पाउने पक्का हुने भएकाले सप्लायर्सले खरिद सम्झौता अगाडि नै सामान मगाउँछन्। यता खरिदको कर्मकाण्डी प्रक्रिया अगाडि बढ्छ। अन्तमा जोसँग मिलेमतो भएको हो उसैले टेन्डर पाउँछ अनि पहिल्यै मेसिन मगाइसकेको अवस्थामा उसले सहजै तोकिएको मिति भित्र सामान बुझाउन सक्छ।

यो टेन्डरमा कतै एक सेट त कतै दुई सेट भनेर कागजातमा नै दुविधा हुने किसिमको भाषा समेत प्रयोग भएको देखिएको छ। 

असार ३, २०८२ मंगलबार २१:४३:५३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।