स्कटल्याण्ड ९७ रनमै अलआउट

स्कटल्याण्ड ९७ रनमै अलआउट

काठमाडौं : त्रिकोणात्मक टि-२०आई सिरिजमा नेपालले घरेलु टोली स्कटल्याण्डबाट ९८ रनको लक्ष्य पाएको छ।

बलिङमा नेपालले शानदार प्रदर्शन गर्दै स्कटल्याण्डलाई १९.४ ओभरमै ९७ रनमा अलआउट गर्न सफल भयो। लेग स्पिनर सन्दीप लामिछानेले ४ ओभरमा १ मेडनसहित मात्र ११ रन खर्चेर ४ विकेट लिएर स्कटल्याण्डको मध्यक्रम धराशायी बनाएका थिए।

स्कटल्याण्डका लागि माइकल लिस्कले सर्वाधिक ४४ रन बनाए। नेपालले टस जितेर बलिङ रोजेपछि सुरुवातदेखि नै स्कटल्याण्डमाथि दबाव बनायो। 

पहिलो ओभरको अन्तिम बलमा दीपेन्द्रले मार्क वाटलाई बोल्ड गर्दै खाता खोले। दोस्रो ओभरमा करण केसीले जर्ज मुन्सेलाई आउट गराउँदै टि-२०आई करियरको १०० औं विकेट पूरा गरे। 

बलिङमा करण केसी र दीपेन्द्रसिंह ऐरीले समान २ विकेट लिए भने ललित राजवंशीले १ विकेट जोडे। सिरिजको पहिलो खेलमा नेदरल्यान्ड्ससँग सुपर ओभरमा हार बेहोरेको नेपाल आज आफ्नो पहिलो जितको खोजीमा छ।

असार ३, २०८२ मंगलबार २१:२५:२५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।