प्रहरी कार्यालयमा उपस्थित हुन दिलभुषणको नाममा प्रहरीको पत्र

काठमाडौं : उच्च अदालत पाटनबाट दिलभुषण पाठकलाई ‘गैर कानुनी रुपमा धरपकड नगर्न’ अन्तरकालिन अन्तरिम आदेश जारी भएपछि प्रहरीको साइबर ब्युरोले आफैँ कार्यालयमा उपस्थित हुन पत्र काटेको छ। ब्युरोले पाठकलाई उनी विरुद्ध परेको जाहेरीबारे जानकारी गराउँदै मंगलबार प्रहरी कार्यालयमा उपस्थित हुन सार्वजनिक रुपमा पत्र काटेको हो।
ब्युरोको पत्रमा परिवर्तित नाम साइबर ब्युरो ५९ (२०८१/८२) को जाहेरीले विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ अन्तर्गतको कसुरमा काठमाडौं जिल्ला अदालतबाट मिति २०८२ जेठ २७ मा मुलुकी फौजदारी कार्यविधि संहिता अनुसार पक्राउ अनुमति प्राप्त भएको भन्दै यथाशीघ्र ब्युरो वा नजिकको प्रहरी कार्यालयमा उपस्थित भएर अनुसन्धानमा सहयोग पुऱ्याउन भनिएको छ।
पाठकले सञ्चालन गर्ने युट्युब च्यानलबाट उनले हिल्टन होटेलमा लगानीबारे प्रसारण गरेको भिडियो रिपोर्ट विरुद्ध ब्युरोमा उजुरी परेको थियो। उनको युट्युब च्यानल सञ्चालन गर्ने कम्पनी सूचना विभाग र प्रेस काउन्सिल नेपालमा दर्ता र सूचीकृत नभएपछि प्रहरीमा जाहेरी परेको थियो।
सूचना विभागमा मिडियाको रुपमा दर्ता र प्रेस काउन्सिलमा सूचीकृत भएको कम्पनीको हकमा समाचार विरुद्धको पहिलो उजुरी काउन्सिलले लिने गरेको छ भने दर्ता र सूचीकृत नभएको कम्पनीको हकमा सिधै प्रहरीले जाहेरी लिने गरेको छ।
असार ३, २०८२ मंगलबार २१:०८:४६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।