महाभोज : दर्शकले यसरी ‘धोका’ दिए की, राउतले आफ्नो भाग्य जान्नै सकेनन्

सहकारी ठगीको घटनाले देशको राजनीति नै तरंगित छ। नयाँ उदाएको दल राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने त पुर्पक्षका लागि जेलमै छन्। कांग्रेस भनौँ या एमाले वा राष्ट्रिय प्रजातन्त्र पार्टी, कुनै दलका नेताहरू जोगिएका छैनन् ठगीमा जोडिन।
अर्कातिर छन् भोलीको खर्च टार्ने आशमा गाँस काटेर सहकारीमा पैसा जम्मा गर्ने सानादेखि बढी ब्याजको लोभमा करोडौँ बचत गरेका बचतकर्ताहरू जसले न्याय पाउन सकेका छैनन्। उपचार खर्च नभएर बचतकर्ताहरू मरिरहेका छन्। कहिले माइतीघर मण्डलामा धर्ना दिन्छन् कहिले सिंहदरबार पुगेर पीडा पोख्छन्। तर बचत फिर्ता आउने पक्का छैन।
गत शुक्रवारबाट हलमा लागेको फिल्म ‘महाभोज’ यस्तै समसामयिक कथामा बनेको फिल्म हो। तर सुस्त कानुनी प्रक्रिया अनि लटरपटर गरेर टार्न खोज्ने प्रशासनका कारण जसरी पीडितहरूले साथ पाइरहेका छैनन् त्यसरी नै यो फिल्मले पनि दर्शकको साथ पाउन सकिरहेको छैन।
फिल्ममा विभिन्न कलाकारहरूको अभिनय छ। त्यसमा सहकारीको सक्कली पीडित वसुन्धरा भुसालदेखि स्क्रिप्ट अनुसारका पात्रहरू पनि छन्। तर हलमा त्यस्तै २ घण्टा १३ मिनेट बिताउँदा फिल्मको पर्दामा देखिने पात्रहरू हाम्रै राजनीतिको वरिपरिका पात्रहरू जस्तै लाग्छन्। कसैको अनुहारमा जीवी राईको छाया देखिन्छ त कसैको अनुहारमा रवि लामिछाने।
फिल्म समस्यारहित छैन। तर फिल्म निर्माणको फ्रेम र बनिरहेका नेपाली फिल्मको गुणस्तरसँग तुलना गरेर हेर्ने हो भने स्क्रिन प्ले र पटकथामा निर्देशक दिनेश राउतले गरेको मिहिनेत हलमा देखिन्छ। रिलिज मिति सार्नुको प्रभाव हो या अन्य फिल्मको चापले हो, फिल्म जुन स्तरको बनेको छ त्यसको तुलनामा दर्शक निकै पातलो देखियो हलमा।
अब लागौँ कथासारतर्फ,
नमुना श्री बहुउद्देश्यीय सहकारी संस्थाको संस्थापक अध्यक्ष सूर्य प्रसाद कोइराला (आर्यन सिग्देल) गाउँ पालिकाको प्रमुखको चुनावमा उठ्छन्। उनी उम्मेदवार बन्ने भएपछि सहकारीको अध्यक्ष बनाउँछन् चन्द्रकाजी गुरुङ (दयाहाङ राई)लाई। पूर्व माओवादी लडाकु रहेका चन्द्रकाजी खुसी नै हुन्छन्।
चुनाव खर्च भनेर सूर्यप्रसादले उनै चन्द्रकाजीको नाममा सहकारीबाट पैसा निकाल्छन् र माथिल्लो तहका नेतालाई भेटी चढाउँछन्। गाउँका साना बचतकर्ताहरूको रकम अवैध रुपमा चुनाव खर्चमा सकिन्छ। सूर्य गाउँपालिका अध्यक्ष हुन्छन्। तर पैसा फिर्ता हुन्न। गाउँका बचतकर्ताहरू पैसाको खोजीमा लागेपछि सङ्कटमा पर्छन् चन्द्रकाजी गुरुङ।
सहकारीको पैसा फिर्ता ल्याएर उनले बचतकर्ताहरूलाई फिर्ता दिन सक्छन् या सक्दैनन्? उनी जेल पर्छन् या सम्मानित हुन्छन्? धोकाको बदला लिन सक्छन् कि सक्दैनन्? फिल्मको मुख्य कथा यिनै प्रश्न वरपर घुमेको छ।
अब पात्रको कुरा गरौँ। फिल्ममा आर्यन, दयाहाङसँगै मलिका महत, बुद्धि तामाङ,वसुन्धरा भुसाल, खगेन्द्र लामिछाने, अञ्जना बराइली, विनोद न्यौपाने गौमाया लगायत टन्नै कलाकारहरू छन्। कसिलो स्क्रिन प्ले र कसिएको पटकथाका कारण पात्रहरूले पाएको चरित्र अनुसार अभिनय सुहाएको छ। आर्यनदेखि दयाहाङसम्म अनि खगेन्द्रदेखि अञ्जनासम्मको अभिनय सुहाएको छ पात्र अनुसार। सर्प्राइज नै खोज्ने हो भने गौमाया र अञ्जनाको अभिनयमा देखिन्छ।
सबल पक्ष
फिल्मको स्क्रिनप्ले नै यसको सबैभन्दा बलियो पक्ष हो। 'पुजार सार्की' बनाएका निर्देशक राउतले राम्रो मिहिनेत गरेका छन्। यसको अर्को बलियो पक्ष भनेको यसको पटकथा हो। सुनिराखेकै अनि भोगिराखेकै सामाजिक कथामा उनले फिल्म बनाएका छन्। तर हलमा फिल्म हेरिरहँदासम्म दर्शक झिँझिदैनन्।
पहिलो हाफ अलि सुस्त भए पनि कथाको लय बिग्रेको छैन फिल्मको। ट्र्याकमै छ। दोस्रो हाफबाट फिल्म निकै कसिलो बन्दै गएको छ। एक निम्न वर्गीय मान्छेको सय रुपैयाँ बचत कसरी नेताको पोल्टासम्म पुगेर फर्कँदैन भन्ने मज्जाले बुझाउन सकेका छन् निर्देशकले।
सामान्य नागरिकको सानो-सानो बचत रकममा नेताहरूले शक्तिको आडमा कसरी महाभोज गरिरहेका छन् भन्ने पर्दामा देखाउन निर्देशक सफल भएका छन्। फिल्मको कोरियोग्राफी, छायाङ्कन अनि ब्याकग्राउन्ड म्युजिक कथा अनुसार सुहाएको छ।
यो फिल्मको अर्को सकारात्मक पक्ष कथाले नमागे पनि बिचबिचमा छ्वास्स गीत राखिदिएर दर्शकलाई ह्याँ भन्ने बनाएका छैनन् निर्देशकले। अनावश्यक गीत राखेर फिल्मको लेन्थ लम्ब्याएका छैनन्।
कमजोरी
फिल्म पुजार सार्की र महाभोज दुबैमा निर्देशक राउत राजनीतिक रुपमा माओवादीप्रति निकै सकारात्मक र नरम देखिए। उनले पुजार सार्कीमा पनि पल शाहको चरित्रमार्फत माओवादी नेताको असल छन् भन्ने राजनीतिक सन्देश दिने प्रयास गरेका थिए।
महाभोजमा पनि उनले माओवादी लडाकुको पात्रमा दयाहाङ र गौमायालाई उभ्याएर त्यस्तै सकारात्मक सन्देश दिने चलेख्याईँ गरेका छन्। तर त्यो पात्रलाई राजनीतिक रुपमा चरित्र चित्रण नगर्दा पनि कथाको लय त्यतिसार्हो बिग्रँदैन। एक राजनीतिक वादमाथिको यो मोहलाई फिल्मको कमजोरीमै राख्न मान लाग्यो।
फिल्म निर्माण टिमको सबैभन्दा ठूलो कमजोरी ट्रेलर निर्माणमा देखियो। फिल्म हेर्दा दर्शक सर्प्राइज हुनसक्ने अधिकांश दृश्यहरू ट्रेलरमै आइसकेका छन्। अनि ट्रेलरबाटै कथाको कथासार सहजै बुझ्न सकिन्छ। त्यसले अहो फिल्ममा के होला है भन्ने कौतुहलता बढाएर दर्शक हलसम्म आइपुग्दैनन्। त्यसको प्रभाव हलका खली सिटले पनि देखायो। ट्रेलरको सम्पादनमा अलि चलाखी गर्न सकेको भए हलमा यसरी दर्शकको खडेरी पर्दैनथ्यो कि!
पुजार सार्कीपछि निर्देशक राउतले साधारण कथालाई घुमाएर असाधारण रुपमा प्रस्तुत गर्ने खुबी छ भनेर महाभोजबाट पुष्टि गरेका छन्। यसमा उनको मिहिनेत प्रस्टै देखिन्छ। तर फिल्म अनुसार दर्शक हलसम्म आउने रणनीति निर्माणमा भने उनमा कमजोरी देखियो। यसमा सुधार गर्ने हो भने राउतले भोलीका दिनमा राम्रा फिल्म दिनसक्ने सम्भावना निकै बलियो देखायो फिल्म महाभोजले।
असार ३, २०८२ मंगलबार २०:४९:०७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।