स्कटल्याण्डविरुद्ध टस जितेर नेपालले रोज्यो बलिङ

काठमाडौं : स्कटल्याण्डमा जारी त्रिकोणात्मक टी-२० सिरिज अन्तर्गत नेपाली राष्ट्रिय क्रिकेट टोली मंगलबार घरेलु टोली स्कटल्याण्डसँग खेल्दैछ। नेपालले टस जितेर स्कटल्याण्डलाई ब्याटिङको निम्तो दिएको छ।
खेल ग्लास्गोस्थित टिटउड क्रिकेट मैदानमा शुरू भएको छ। नेदरल्यान्ड्सविरुद्धको खेल तेस्रो सुपर ओभर हारपछि नेपाल सिरिजको पहिलो जितको खोजीमा हुनेछ।
सिरिजको पहिलो खेलमा स्कटल्याण्डले नेदरल्याण्ड्सलाई ३९ रनले हराएर विजयी सुरुवात गरेको छ र २ अंकसहित शीर्ष स्थानमा छ। नेदरल्याण्ड्ससँगको हारपछि नेपालले भने अंक खाता खोल्न बाँकी छ।
नेपाल र स्कटल्याण्डबीच यसअघि सन् २०१३ मा एक मात्र टी-२० अन्तर्राष्ट्रिय खेल भएको थियो, जसमा स्कटल्याण्ड आठ विकेटले विजयी भएको थियो। आईसीसी टी-२० वरीयतामा नेपाल १८औं स्थानमा हुँदा स्कटल्यान्ड १३औं स्थानमा छ।
नेपालको प्लेइङ ११ मा लोकेश बम, कुशल भुर्तेल, अनिल शाह, रोहित पौडेल, दीपेन्द्रसिंह ऐरी, किरण ठगुन्ना, बसीर अहमद, रुपेश सिंह, करण केसी, सन्दीप लामिछाने र ललित राजवंशी रहेका छन्।
२० जुनसम्म चल्ने यस सिरिजअन्तर्गत बुधबार स्कटल्याण्ड र नेदरल्याण्ड्स, बिहिबार नेपाल र नेदरल्याण्ड्स तथा शुक्रबार नेपाल र स्कटल्याण्डबीच फेरि खेल हुने तालिका छ।
असार ३, २०८२ मंगलबार १९:४३:३६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।