‘ग्लोकल टीन हिरो नेपाल २०२५’ का लागि आवेदन खुला

काठमाडौं : ‘ग्लोकल टीन हिरो नेपाल’ कार्यक्रमको ११औं संस्करणका लागि आवेदन खुला गरिएको छ। गोल्छा ग्रुपको प्रस्तुति रहेको यो कार्यक्रमले समाजमा सकारात्मक प्रभाव पारिरहेका किशोरकिशोरीहरूको योगदानलाई सम्मान र पहिचान दिलाउने उद्देश्य राखेको छ।
‘ग्लोकल टीन हिरो’ परिवर्तन ल्याउने सोच भएका युवाहरूलाई सही मूल्यांकन र सम्मान दिने प्लेटफर्म हो। सीप विकास, प्रशिक्षण र शिक्षा क्षेत्रमा क्रियाशील ग्लोकल प्रा.लिले सञ्चालन गर्दै आएको यो कार्यक्रममा किशोरकिशोरीहरूले आफ्नो सिर्जनशीलता, नेतृत्व क्षमता र सामाजिक कार्यद्वारा समुदायमा पुर्याशएको प्रभाव प्रस्तुत गर्न पाउँछन्।
यो कार्यक्रम सन् २०१५ मा काठमाडौँ उपत्यकाभित्रका प्रतिभावान किशोरकिशोरीहरूलाई सम्मान गर्ने उद्देश्यले सुरु गरिएको थियो। सन् २०१६ देखि यसलाई देशभर विस्तार गरियो। नेपालमा सफलता पाएपछि ग्लोकल टीन हिरोको पहुँच सन् २०१९, २०२० र २०२२ मा क्रमशः भारत, श्रीलंका र बंगलादेशमा पनि फैलिएको छ। नेपालबाट सुरुआत भएको यो अभियान अहिले दक्षिण एसियाली किशोरकिशोरीहरूको नेतृत्वको उज्यालो प्रतिनिधित्व बनिसकेको छ।
ग्लोकल टीन हिरो नेपाल २०२५ का लागि १३ देखि १९ वर्ष उमेर समूहका जुनसुकै किशोरकिशोरीले आवेदन दिन सक्नेछन्।
कार्यक्रममा सहभागिता जनाउन चाहनेले अनलाइन माध्यमबाट आवेदन दिन सक्नेछन्। आवेदन फारम असार २ बाट उपलब्ध भइसकेको छ र अन्तिम मिति २०८२ साउन १५ सम्म हुनेछ।
आवेदनको गहन समीक्षा पछि प्रारम्भिक मूल्याङ्कनबाट उत्कृष्ट उम्मेदवारहरू छानिनेछन्। त्यसपछि शीर्ष ६ फाइनलिस्टहरू छनोट गरिनेछन्, जसले अन्तिम चरणमा सहभागिता जनाउने अवसर पाउनेछन्। छनोटका आधारहरूमा उनीहरूको दृष्टिकोण, कामको प्रभाव, नेतृत्व क्षमता र दीगो सोच समावेश हुनेछन्।
असार ३, २०८२ मंगलबार १९:१६:२५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।