भिजिट भिसा प्रकरणमा प्रचण्डको दोधारे बोली ‘मैले छाडे पनि नेपाली नागरिकले छाड्न हुन्न’

चितवन : भिजिट भिसाबारे सत्ताधारी दलसँग दुई बुँदे सहमति गरेर विरोध बन्द गरेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूले यो विषय छाडे पनि नेपाली जनताले छाड्न नहुने बताए।
चितवन पुगेका उनले भिजिट भिसाको समस्या अहिलेको मात्र नभएर २०६४ देखिकै रहेको भन्दै कानुन र नीतिमा सुधार गरेर भए पनि यसको समाधान गर्नुपर्ने बताए।
प्रेस सेन्टर चितवनले दाहाल निवास शिवनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले भने “यो २०६४ सालदेखि चल्दै आएको छ भन्ने कुरो तपाईँहरूले पनि थाहा पाउनुभएको छ। हामीले पनि थाहा पाएकै छौँ। यस विषयमा छानबिन र नीतिगत सुधार गर्नुपर्छ।’
उनले यो मुद्दालाई त्यत्तिकै नछाड्ने दाबी समेत गरे। यसका लागि जरुरी परे संविधानै संशोधन गर्ने, ऐन निर्माण र नीतिगत निर्णय गर्नु परे पनि गरिने उनको दाबी थियो।
उनले आफूहरू प्रतिपक्षमा भए पनि संविधान, ऐन कानुन र सिस्टमका निम्ति सत्तापक्षको भूमिका खेल्नुपर्ने बाध्यता आएको दाबी समेत गरे।
प्रचण्डले बजेट पारित गर्नुपर्ने, सङ्घीय निजामती सेवा ऐन र विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने, शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्नुपर्ने लगायतका जिम्मेवारीका कारण ३० दिनभित्र छानबिन समिति बनाउने सर्तमा संसद्को अवरोध खुलाउन सहमति गरेको बताए।
माओवादीले दुई बुँदे सहमति गरे पनि रास्वपा र राप्रपाको अवरोधका कारण संसद् बैठक अगाडि बढ्न सकेको छैन। विरोधकै कारण मंगलबार पनि बैठक बसेर आधा घण्टाका लागि स्थगित भएकोमा बिहीबारसम्मका लागि सरेको छ।
असार ३, २०८२ मंगलबार १७:२२:४७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।