बस्न सकेन संसद् बैठक,सहमतीको गृहकार्यका लागि बिहीबारसम्मका लागि स्थगित

बस्न सकेन संसद् बैठक,सहमतीको गृहकार्यका लागि  बिहीबारसम्मका लागि स्थगित

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीको निरन्तर अवरोधपछि आधा घण्टाका लागि स्थगित भएको प्रतिनिधि सभाको बैठक बिहीबार बिहान ११ बजेसम्मका लागि स्थगित भएको छ।

प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्र दुई बुँदे सहमतिमा आएसँगै सभामुख देवराज घिमिरेले अवरोधकाबीच संसद् बैठक अगाडि बढाइरहेका थिए।

तर भिजिट भिसामा जोडिएका गृहमन्त्रीमाथि छानबिन र राजीनामाको माग राख्दै रास्वपा र राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसदहरूले संसद् बैठकमा निरन्तर विरोध गरेपछि मंगलबारको बैठक केही समय बसेर स्थगित भएको थियो।

सभामुख देवराज घिमिरेले संसद्को अवरोध खुलाउन विभिन्न दलका सचेतकहरूसँगै मंगलबार गृहमन्त्री रमेश लेखकसँग समेत छलफल गरेका थिए। तर सहमति हुन नसक्दा मंगलबार बैठक निरन्तर हुन सकेन। अनि सूचना टाँसेर बिहीबार बिहान ११ बजेसम्मका लागि बैठक स्थगित भयो।

भिजिट भिसाको आवरणमा रकम असुलेर मानव तस्करी गरेको आरोपमा गृह मन्त्रालय मातहतको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन कार्यालय प्रमुख नै अख्तियारको अनुसन्धानको दायरामा आएपछि प्रतिपक्षी दलहरूले यसमा राजनीतिक संलग्नतासमेत रहेको भन्दै गृहमन्त्रीमाथि समेत छानबिन गर्न माग गरिरहेका छन्।

सभामुख सचिवालय स्रोतका अनुसार सहमतिका लागि दलहरुबीच गृहकार्य गरेर आउनेगरि सभामुखले मंगलबारको बैठक स्थगित गरेर बिहीबारका लागि राखेका हुन्।

निरन्तर संसद बैठकमा अवरोध भएपछि सत्ताधारी दल नेपाली कांग्रेसले बुधबारका लागि आकस्मिक रुपमा केन्द्रीय कार्यसमिती बैठक समेत बोलाएको छ।

असार ३, २०८२ मंगलबार १७:०५:४७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।