सामाजिक उत्तरदायित्वमा नबिल बैंकको ७ करोड ६० लाख खर्च, कर्णाली र बागमती प्राथमिकतामा

काठमाडौं : नबिल बैंकले शिक्षा क्षेत्रलाई प्राथमिकतामा राखेर सामाजिक उत्तरदायित्व कार्यक्रममा निरन्तर लगानी बढाउँदै लगेको छ। बैंकले गत आर्थिक वर्ष २०८०/८१ मा ५ करोड ४ लाख २९ हजार रुपैयाँ खर्च गरेको थियो। चालू आर्थिक वर्षको तेस्रो त्रैमासिकसम्म बैंकले २ करोड ५६ लाख २२ हजार रुपैयाँ खर्च गरेको बैंकको तेस्रो त्रैमासिक रिपोर्टले देखाएको छ।
बैंकले शिक्षा, स्वास्थ्य र वातावरणमा समेत प्रमुख प्राथमिकताका साथ खर्च गरिरहेको तेस्रो त्रैमास प्रतिवेदनमा देखिन्छ।
नबिल बैंकको सामाजिक उत्तरदायित्व कार्यक्रममा भएको खर्चले बैंकले आफ्नो क्षेत्रगत प्राथमिकता परिवर्तन गरेको देखिन्छ। गत वर्ष वित्तीय साक्षरतालाई प्राथमिकता दिएको बैंकले यस वर्ष शिक्षा क्षेत्रलाई फोकस गरेको छ। दोस्रो, प्रदेशगत वितरणमा पनि उल्लेखनीय परिवर्तन आएको छ। गत वर्ष कर्णालीमा केन्द्रित रहेको खर्च यस वर्ष बागमतीमा सरेको छ।
तेस्रो, स्वास्थ्य क्षेत्रमा नयाँ लगानी सुरु गरिएको छ। मानवीय सहायता र दिगो विकास लक्ष्यका कार्यक्रमहरूमा निरन्तरता कायम राखिएको छ। बैंकले आफ्नो सामाजिक उत्तरदायित्व कोषको वित्तीय व्यवस्थापनमा दक्षता देखाएको छ।
बैंकको सामाजिक उत्तरदायित्व कोषको वित्तीय व्यवस्थापन प्रभावकारी देखिन्छ। अघिल्लो आर्थिक वर्षदेखि ८ करोड १६ लाख रुपैयाँ बाँकी रहेको कोषमा यस वर्षको मुनाफाबाट ६ करोड १९ लाख रुपैयाँ थप गरेको छ। कोषमा १४ करोड खर्च योग्य रकम रहेको देखिन्छ। तेस्रो त्रैमासिकसम्म २ करोड ५ लाख खर्च भएपछि अझै १२ करोड २० लाख रुपैयाँ बाँकी छ।
यो तथ्यले बैंकले सामाजिक उत्तरदायित्व कार्यक्रमका लागि पर्याप्त रकम छुट्टाएको देखिन्छ। आगामी चौथो त्रैमासिकमा बाँकी रकमको उपयोग कसरी गरिन्छ भन्ने कुराले बैंकको सामाजिक प्रतिबद्धताको वास्तविक चित्र प्रस्तुत गर्नेछ।
प्रदेशगत खर्चमा कर्णाली र बागमती अगाडि
प्रदेशगत खर्चको वितरणमा गत वर्ष र यस वर्षको बिचमा उल्लेखनीय परिवर्तन देखिन्छ। रिपोर्ट अनुसार चालु आर्थिक वर्षमा बागमती प्रदेशमा सबैभन्दा बढी ६१ लाख खर्च गरेको देखिन्छ। यसमा सामाजिक परियोजनाहरू रहेका छन्।
कोशीमा ३४ लाख २१ हजार खर्च गरेको बैंकले कर्णालीमा ३३ लाख खर्च गरेको छ। लुम्बिनीमा २७ लाख, मधेसमा १९, गण्डकी र सुदूरपश्चिममा १४-१४ लाख खर्च गरेको छ।
गत आर्थिक वर्षको प्रदेशगत खर्च हेर्दा कोशीका लागि ५९ लाख २२ हजार, मधेसका लागि ५५ लाख ९३ हजार, बागमतीका लागि ८७ लाख १७ हजार, गण्डकीका लागि ८० लाख, लुम्बिनीका लागि ५० लाख ५० हजार, कर्णालीका लागि १ करोड १० लाख र सुदूरपश्चिम प्रदेशका लागि ६० लाख ६६ हजार खर्च भएको देखिन्छ।
वित्तीय साक्षरताको निरन्तरता
शीर्षक अनुसार दिगो विकास लक्ष्यमा बैंकले ९६ लाख खर्च गरेको छ। त्यसपछि वित्तीय साक्षरता कार्यक्रममा ८४ लाख ८१ हजार खर्च भएको छ। मानवीय सहायतामा बैंकले १८ लाख खर्च गरेको छ।
गत वर्षको विवरण हेर्ने हो भने विभिन्न सामाजिक कामका लागि ९६ लाख, वित्तीय साक्षरतामा एक करोड ९८ लाख, दिगो विकासमा एक करोड २२ लाख, डिजिटल प्रमोसनमा १२ लाख र बैंक खाता खोल्न अभिप्रेरित गर्न सञ्चालित खोल बैंक खाता अभियानमा ४ लाख ४४ हजार खर्च गरेको देखिन्छ।
असार ३, २०८२ मंगलबार १६:३८:०५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।