निलो स्कार्फमा आपत्ति जनाउँदै कांग्रेस सचेतक घिमिरेले रास्वपाका सांसदमाथि कारबाही मागे

काठमाडौं : कांग्रेस प्रमुख सचेतक श्याम घिमिरेले प्रतिनिधि सभाको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरूले लगाएको निलो स्कार्फलाई अमर्यादित पोसाक भएको भन्दै कार्वाहीको माग गरे। प्रतिनिधि सभाको सोमबारको बैठकमा गृहमन्त्रीको राजीनामा माग्दै आएका रास्वपाका सांसदहरूले निलो स्कार्फ लगाएर बैठक कक्षमा गएका थिए।
घिमिरेले संसद् सञ्चालन सम्बन्धी नियमावलीको नियम ३० मा बैठकमा अभद्र व्यवहार गर्ने सदस्यलाई आफ्नो व्यवहार नियन्त्रण गर्न सभामुखले चेतावनी दिन सक्ने र चेतावनी पाएपछि त्यस्तो सदस्यले आफ्नो व्यवहारमाथि तुरुन्त नियन्त्रण गर्नुपर्ने भन्ने व्यवस्था गरिएको भन्दै सभामुख देवराज घिमिरेको ध्यानाकर्षण गराएका थिए। उनले नियमावलीको नियम ३१ मा बैठक कक्षबाट निष्कासन गर्न सकिने समेत व्यवस्था रहेको बताए।
‘यो संसद्मा मर्यादित पोसाकमा आउनुपर्छ भन्ने व्यवस्था गरिएको छ। संसद्मा अहिले केही माननीय सदस्यहरूले स्कार्फ लगाएर आउनुभएको छ। जुन मर्यादित पोसाकभित्र पर्छ कि पर्दैन?,’ उनले प्रश्न गरेका थिए ‘भोली कोही हाफ पाइन्ट मात्र लगाएर आउने, जथाभाबी ड्रेसमा आउने र जे पनि लगाएर आउने गर्न थाल्यो भने त्यसलाई संसदीय मर्यादाभित्र राख्ने किन नराख्ने?’
उनले यस्तो किसिमको व्यवहार गर्ने सदस्यहरूलाई सभामुखले चेतावनी दिने र संसदबाट निष्कासनको कारबाही गर्न आवश्यक रहेको भन्दै सभामुखको ध्यानाकर्षण गराएका थिए।
भिजिट भिसा प्रकरणमा गृह प्रशासन अन्तर्गतका कर्मचारी अख्तियारको अनुसन्धानमा तानिएपछि रास्वपासहितका दलहरूले संसदीय छानबिन समिति र राजीनामाको माग गर्दै संसद् बैठक अवरुद्ध गर्दै आएका छन्। माओवादी केन्द्रसहितका प्रतिपक्षी दल दुई बुँदे सहमतिपछि पछि हटे पनि रास्वपा र राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसदहरूले भने माग छाडेका छैनन्।
असार ३, २०८२ मंगलबार १५:०२:५७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।