भिजिट भिसालाई मानव तस्करीको माध्यम बनाइएको आरोप लगाएको रास्वपा निलो रिबन लगाएर संसदमा

काठमाडौं : भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा र उच्चस्तरीय छानबिन समितिको माग गर्दै आएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरूले निलो रिबन लगाएर विरोध प्रदर्शन गरेका छन्।
भिजिट भिसालाई मानव तस्करीको माध्यम बनाइएको आरोप लगाउँदै रास्वपाले यस विषयमा छानबिन र संलग्नलाई कारबाही हुनुपर्ने मागसहित निरन्तर सदन अवरोध गर्दै आएको छ।
प्रतिनिधि सभाको आजको बैठकअघि रास्वपाका सांसदहरूले संसद् भवनअगाडि निलो रिबनसहित सामूहिक तस्बिर खिचाएका थिए। पार्टीका कार्यवाहक अध्यक्ष डिपी अर्यालले उक्त तस्बिर फेसबुकमा पोस्ट गर्दै ‘आन्दोलन जारी छ’ उल्लेख गरेका छन्।
रास्वपाका प्रवक्ता मनिष झाका अनुसार, मानव तस्करीविरुद्धको अभियानलाई विश्वव्यापी रूपमा निलो रिबनले प्रतीकका रूपमा जनाउने भएकाले सांसदहरूले संघीय सदनमा निलो रिबन लगाएर मानव तस्करीको विरोध जनाएका हुन्।
असार ३, २०८२ मंगलबार १४:०९:११ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।