२५ वर्षअघिको ह्याङ त्याग्न निर्माताहरूलाई निर्देशक लामाको सुझाव, बक्सअफिस कलेक्सनलाई मानक मान्न आग्रह

२५ वर्षअघिको ह्याङ त्याग्न निर्माताहरूलाई निर्देशक लामाको सुझाव, बक्सअफिस कलेक्सनलाई मानक मान्न आग्रह

काठमाडौं : चलचित्र निर्देशक दीपेन्द्र लामाले एक शोको भरमा ५१ दिन मनाउने चक्करमा नलाग्न चलचित्रकर्मीलाई सुझाव दिएका छन्। पछिल्लो समय फिल्मको सफलताको मानक बक्स अफिस कलेक्सन भएको भन्दै उनले एक शो झुण्ड्याएर ५१ दिन मनाउने चक्करमा नलाग्न उनले सुझाव दिएका हुन्।

लामाले फिल्मको सफलताको मापदण्ड परिवर्तन भइसकेको भन्दै बक्सअफिस रिपोर्टलाई नै आधिकारिक मानक मान्नुपर्नेमा जोड दिए। उनले चलचित्र उद्योगमा २५ वर्षअघिको ‘ह्याङ’ अझै बाँकी रहेको उल्लेख गर्दै निर्माताहरूलाई यथार्थ बुझ्न आग्रह गरेका छन्।

उनले विगतलाई स्मरण गर्दै भने, ‘एकताका काठमाडौंमा ६-७ वटामात्र हल थिए। त्यतिबेला सुपरहिट फिल्म हेर्न दर्शक हप्तौंसम्म पालो कुर्थे। र, फिल्मले ५१ दिन, १०० दिन र रजत जयन्तीसम्म मनाउँथे। ५१ दिन मनाउनु भनेको फिल्मले लोभलाग्दो नाफा कमाउनुको प्रमाण मानिन्थ्यो। जस्तै, २०५७ सालमा ‘दर्पणछायाँ’ले राजधानीका ९ वटा हलमा एकसाथ ५१ दिन मनाएको थियो। त्यसलाई उद्योगका सबैले एक गर्व गर्न लायक सफलताका रूपमा सम्मान पनि दिए।’

तर, क्यूएफएक्स लगायतका हल सञ्चालकले डिजिटल प्रोजेक्सन र मल्टिप्लेक्स संस्कृति भित्र्याएपछि फिल्म व्यापारको आयाम फेरिएको उनको भनाइ छ। पहिले ४ वटा प्रिन्ट डुलाएर विभिन्न टेरिटोरीमा पालैपालो फिल्म रिलिज गर्नुपर्ने बाध्यता थियो भने डिजिटल आएपछि देशभरका सयभन्दा बढी हलमा एकैपटक फिल्म चल्न थालेको उनले बताए।

नयाँ युगमा फिल्मको व्यापारिक सफलता बक्सअफिस कलेक्सनमा देखिएको उदाहरण दिँदै उनले भने, ‘छक्का पन्जाले १५ करोडभन्दा बढी व्यापार गर्यो। त्यसपछि ६-७ वटा फिल्मले १० करोडभन्दा बढी व्यापार गरिसकेका छन्। पूर्णबहादुरको सारंगीले ४६ करोडको रेकर्ड बनाइसक्यो।’

लामाले अगाडि भने, ‘२०८१ सालमा रिलिज भएको छक्का पन्जा-५ ले १६ करोड ग्रस गर्यो, ५१ दिन मनाएन। तर अल-नेपाल ३ करोड पनि ग्रस नगरेको एउटा अर्को फिल्मले रञ्जना हलमा ५१ दिन मनायो। त्यो पनि दिनको १ शो लट्काएर। अब के छक्का पन्जा-५ भन्दा त्यो ५१ दिने फिल्मलाई व्यापारिक रूपमा सफल मानिन्छ त? अवश्य मानिँदैन।’

गत वर्ष फागुनको १८ गतेबाट रिलिजमा आएको फिल्म ‘अगस्त्य: च्याप्टर १’ले काठमाडौंको न्यूरोडस्थित रञ्जना सिनेप्लेक्समा ५१ दिन मनाएको थियो।  फिल्मले देशभरबाट  तीन करोड पनि ग्रस कलेक्सन गर्न नसकेको चलचित्र विकास बोर्डले निकालेको रिपोर्टमा उल्लेख छ।

व्यापारिक रूपमा सफल फिल्म बनाउने हो भने एक शोको भरमा ५१ वा १०० दिन मनाउने प्रवृत्ति त्यागेर ‘पूर्णबहादुरको सारंगी’को ४६ करोड ग्रसलाई नाघ्ने लक्ष्य राखेर काम गर्न उनले चलचित्रकर्मीलाई सुझाव दिएका छन्।

असार ३, २०८२ मंगलबार ११:१४:२९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।