१२ वर्षपछि स्कटल्याण्डसँग भिड्दै नेपाल, तेस्रो सुपर ओभरमा हारपछि पहिलो जितको खोजी

१२ वर्षपछि स्कटल्याण्डसँग भिड्दै नेपाल, तेस्रो सुपर ओभरमा हारपछि पहिलो जितको खोजी

काठमाडौं : स्कटल्याण्डमा जारी त्रिकोणात्मक टी-२० सिरिज अन्तर्गत नेपाली राष्ट्रिय क्रिकेट टोली मंगलबार घरेलु टोली स्कटल्याण्डसँग खेल्दैछ।

खेल ग्लास्गोस्थित टिटउड क्रिकेट मैदानमा नेपाली समयअनुसार साँझ ७:४५ बजेबाट शुरू हुनेछ। नेदरल्यान्ड्सविरुद्धको खेल तेस्रो सुपर ओभर हारपछि नेपाल सिरिजको पहिलो जितको खोजीमा हुनेछ।

सिरिजको पहिलो खेलमा स्कटल्याण्डले नेदरल्याण्ड्सलाई ३९ रनले हराएर विजयी सुरुवात गरेको छ र २ अंकसहित शीर्ष स्थानमा छ। नेदरल्याण्ड्ससँगको हारपछि नेपालले भने अंक खाता खोल्न बाँकी छ।

नेपाल र स्कटल्याण्डबीच यसअघि सन् २०१३ मा एक मात्र टी-२० अन्तर्राष्ट्रिय खेल भएको थियो, जसमा स्कटल्याण्ड आठ विकेटले विजयी भएको थियो। आईसीसी टी-२० वरीयतामा नेपाल १८औं स्थानमा हुँदा स्कटल्यान्ड १३औं स्थानमा छ।

नेदरल्याण्ड्सविरुद्धको खेलमा तीव्र गतिका बलर नन्दन यादवले चोट बोकेका कारण आजको खेलमा उनी नखेल्ने सम्भावना छ। टोलीमा केही परिवर्तन हुन सक्ने र युवा ब्याट्सम्यान रिजन ढकालले अवसर पाउन सक्ने अपेक्षा गरिएको छ।

२० जुनसम्म चल्ने यस सिरिजअन्तर्गत बुधबार स्कटल्याण्ड र नेदरल्याण्ड्स, बिहिबार नेपाल र नेदरल्याण्ड्स तथा शुक्रबार नेपाल र स्कटल्याण्डबीच फेरि खेल हुने तालिका छ।

असार ३, २०८२ मंगलबार ०९:५६:४७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।