महालक्ष्मी विकास बैंकको ३१औं वार्षिकोत्सव : २० वर्ष सेवा पुर्याएका कर्मचारी सम्मानित, टोस्टमास्टर्स क्लब सुरू

महालक्ष्मी विकास बैंकको ३१औं वार्षिकोत्सव : २० वर्ष सेवा पुर्याएका कर्मचारी सम्मानित, टोस्टमास्टर्स क्लब सुरू

काठमाडौं : महालक्ष्मी विकास बैंकले आफ्नो ३१औं वार्षिकोत्सवको अवसरमा बैंकमा २० वर्ष निरन्तर सेवा पुर्याएका ३६ जना कर्मचारीहरूलाई सम्मान गरेको छ।

काठमाडौंमा आयोजित एक विशेष कार्यक्रमका बीच बैंकको स्थायित्व, विकास र उत्कृष्टतामा उनीहरूको इमान्दारिता, निष्ठा र महत्वपूर्ण योगदानको कदर गर्दै यो सम्मान प्रदान गरिएको हो।

बैंकका अध्यक्ष, संचालक समितिका सदस्यहरू तथा प्रमुख कार्यकारी अधिकृतले विभिन्न शाखा र केन्द्रीय कार्यालयमा कार्यरत ती कर्मचारीहरूलाई सम्मानित गरेका थिए। बैंकले सम्मानित कर्मचारीहरूको ज्ञान, सीप र अनुभवले आगामी दिनमा बैंकलाई अझ सबल बनाउने विश्वास व्यक्त गरेको छ।

सोही कार्यक्रममा महालक्ष्मी टोस्टमास्टर क्लबको औपचारिक सुरुवात पनि गरियो। टोस्टमास्टर्स इन्टरनेशनलद्वारा मान्यता प्राप्त यो क्लबले बैंकका कर्मचारीहरूको नेतृत्व क्षमता, सार्वजनिक वक्तृत्व कला, आत्मविश्वास तथा सञ्चार कौशल विकासमा सहयोग पुर्याउने लक्ष्य राखेको छ। विकास बैंकहरूमध्ये टोस्टमास्टर क्लबको औपचारिक सुरुवात गर्ने महालक्ष्मी विकास बैंक पहिलो बनेको छ।

बैंकले जेठ महिनाभरि ३१औं वार्षिकोत्सवका लागि तय गरिएका सम्पूर्ण कार्यक्रमहरू सफलतापूर्वक सम्पन्न गरेको छ। यस अवसरमा बैंकले आगामी दिनमा आफ्ना ग्राहकहरूलाई थप अत्याधुनिक, सुरक्षित तथा सहज बैंकिङ सुविधा उपलब्ध गराउन प्रतिबद्धता जाहेर गरेको छ।

असार ३, २०८२ मंगलबार ०९:४१:४८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।