रविचन्द्रन अश्विनमाथि बल टेम्परिङको आरोप

एजेन्सी : पूर्व भारतीय स्पिनर रविचन्द्रन अश्विन र उनको टिम डिन्डिगुल ड्रागन्समाथि तमिल नाडु प्रिमियर लिग (टीएनपीएल) मा बल टेम्परिङ गरेको आरोप लागेको छ। यो आरोप सियाचेम मदुरै प्यान्थर्सले लगाएको हो।
मदुरै प्यान्थर्स नामक टोलीले डिन्डिगुल ड्रागन्सले केमिकल भएको एउटा विशेष रुमाल प्रयोग गरेर बल टेम्परिङ गरेको आरोप लगाएको हो। मदुरैका प्रशिक्षक सिजित चन्द्रनले फ्रेन्चाइजकी सीईओ पूजा दामोदरनलाई लेखेको पत्रमा उनले यो विषय उठाएका थिए।
‘पावरप्लेपछि हाम्रा ब्याट्सम्यानले हरेक सट खेल्दा आएको आवाज यस्तो थियो मानौं उनीहरू क्रिकेट बल होइन, कुनै कडा ढुंगामा प्रहार गरिरहेका छन्,’ प्रशिक्षकले गुनासो पत्रमा उल्लेख गरेका छन्, ‘डिन्डिगुल ड्रागन्सको टोलीले बल टेम्परिङ गर्न पहिले नै रसायन लगाइएको विशेष रुमालको प्रयोग गरेको हाम्रो विश्वास छ।’
यस विषयमा विस्तृत समीक्षा गरेपछि, टीएनपीएलका सीईओ प्रसन्ना कन्ननले बलसँग छेडछाड गरिएको कुनै प्रमाण नभेटिएको बताएका छन्। कन्ननले एक विज्ञप्ति जारी गर्दै प्रश्न उठाइएका रुमालहरू टीएनसीए (तमिल नाडु क्रिकेट संघ)ले दिएको र दुवै टोलीका लागि उही रुमाल दिइएको उल्लेख गरेका छन्।
विज्ञप्तिमा भनिएको छ, ‘अम्पायर र म्याच रेफ्रीहरूले पूरै खेलको क्रममा बलको अवस्थामाथि पूर्ण निगरानी राखेका थिए। खेलका दौरान कुनै चिन्ता व्यक्त गरिएन र कुनै प्रमाणिक प्रमाण पनि पेस गरिएको छैन।’
यदि मदुरै प्यान्थर्ससँग विश्वसनीय र प्रमाणित गर्न सक्ने प्रमाण भए जुन १७ दिउँसो ३ बजेसम्म स्वतन्त्र जाँच आयोगलाई औपचारिक अनुरोध पेश गर्न सक्ने उल्लेख छ। साथै सहायक सामग्री (भिडियो, फोटो) पनि दिनुपर्ने भनिएको छ।
यदि मदुरैले आफ्ना आरोपका लागि प्रमाण पेस गर्न नसके, उनीहरूले टीएनसीएको आचारसंहिता र परिचालन नियम अन्तर्गत प्रतिबन्धको सामना गर्नुपर्ने समेत विज्ञप्तिमा उल्लेख छ।
यसका अलावा कन्ननले मदुरै प्यान्थर्सले जुन १४ मा डिन्डिगुलविरुद्धको खेल सकिएको २४ घण्टाभन्दा बढी समयपछि मात्र गुनासो दर्ता गरेर प्रक्रिया उल्लंघन गरिएको इएसपीएनक्रिकइन्फोले प्राप्त गरेको इमेलमा बताइएको छ।
टीएनसीएका मानार्थ सचिवसमक्ष गुनासो दर्ता गर्नुपर्नेमा मदुरैले त्यसो नगरेकोले यसलाई ‘अस्वीकार्य’ मानिएको छ। तर ‘पारदर्शिता र निष्पक्षता’ लाई ध्यानमा राख्दै, टीएनपीएलले यसलाई मानार्थ सचिव र डिन्डिगुल फ्रेन्चाइज दुवैलाई पठाएर समीक्षा गरेको हो।
डिन्डिगुल ड्रागन्सले शनिबार सलेममा मदुरैलाई सहजै हराएको थियो। कप्तान अश्विन र ओपनर शिवम सिंहले मिलेर १३ ओभरभित्र १५१ रनको लक्ष्य पूरा गर्दै टोलीलाई जित दिलाएका थिए। अश्विनको टिम डिन्डिगुल अघिल्लो सिजनको च्याम्पियन हो।
के हो बल टेम्परिङ?
बल टेम्परिङ भन्नाले खेल चलिरहेको बेला कुनै खेलाडीले गैरकानूनी तरिकाले बलको अवस्था परिवर्तन गर्ने कार्यलाई बुझिन्छ। यसको मुख्य उद्देश्य भनेको बलरहरूलाई फाइदा पुर्याउनु हो, किनकि बलको सतहलाई परिवर्तन गर्दा त्यसको स्विङ, बाउन्स, वा ग्रिपमा फरक परी बलरलाई विकेट लिन सजिलो हुन सक्छ।
बल टेम्परिङ सामान्यतया बलको एक भागलाई नङ, जिप वा अरू कुनै तीखो वस्तुले खुर्केर, थुकबाहेक अरू कुनै बाहिरी पदार्थ (जस्तै: भेसेलिन, स्यान्डपेपर) लगाएर, जुत्ताको स्पाइकले रगडेर वा बललाई दाँतले टोकेर गरिन्छ।
यी सबै कार्यहरू क्रिकेटको नियमअनुसार गैरकानूनी मानिन्छन् र यदि कुनै खेलाडी वा टोली दोषी पाइएमा बल परिवर्तन गर्ने, पेनाल्टी रन दिने, जरिवाना गर्ने वा खेलाडीलाई निलम्बन गर्नेसम्मको कारबाही हुन सक्छ।
यद्यपि, बललाई सफा राख्न वा एकातर्फ चम्किलो बनाउनका लागि खेलाडीले आफ्नो प्यान्टमा रगड्ने वा प्राकृतिक थुक/पसिना लगाउने जस्ता कार्यहरू भने नियमसम्मत हुन्छन् र यसलाई बल टेम्परिङ मानिँदैन।
असार ३, २०८२ मंगलबार ०९:२५:१६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।