इरानको सरकारी टिभीमा इजरायली आक्रमण : समाचार पढ्दा-पढ्दै भागिन् प्रस्तोता, सुनियो ‘अल्लाहू अकबर’ (भिडियो)

एजेन्सी : इजरायलले इरानको सरकारी प्रसारण संस्था आइआरआईबीमा आक्रमण गरी प्रत्यक्ष प्रसारण अवरुद्ध पारेको छ। यो घटनाले तेहरानसँगको द्वन्द्वमा अर्को चरणको तनाव थपिएको छ।
सोमबार भएको आक्रमणलाई गाजा, कब्जा गरिएको वेस्ट बैंक र लेबनानमा मिडिया लक्ष्यहरूमा इजरायलले यसअघि गरेका आक्रमणहरूको निरन्तरताको रूपमा हेरिएको छ।
प्रत्यक्ष प्रसारणका क्रममा प्रस्तोता पछाडि रहेको स्क्रिनमा विस्फोट भयो, जसबाट धुवाँ र भग्नावशेष देखियो।
टिभी प्रस्तोता सहर इमामीले तत्काल प्रतिक्रिया दिँदै यसलाई ‘मातृभूमिमाथि भएको आक्रमण’ र ‘सत्यमाथिको हमला’ भन्दै निन्दा गरिन्। फुटेजमा उनी स्टुडियोबाट भाग्दै गरेको देखिन्छिन् र पछाडिबाट ‘अल्लाहू अकबर’ भन्ने आवाज सुनिएको छ।
इजरायली सेनाले आइआरआईबीको मुख्यालय रहेको तेहरानको डिस्ट्रिक्ट थ्रीमाथि धम्की दिएको केही समयपछि यो आक्रमण गरेको हो। इजरायलका रक्षामन्त्री इजरायल काट्जले भनेका थिए, ‘इरानी प्रचार र उत्तेजना फैलाउने मुखपत्र समाप्त हुने बाटोमा छ।’
इरानको विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बघाएईले यो कदमलाई ‘खेदजनक कार्य’ भन्दै इजरायलले ‘युद्ध अपराध’ गरेको आरोप लगाएका छन्। उनले इजरायललाई पत्रकार र मिडियाकर्मीहरूको ‘नम्बर एक हत्यारा’को संज्ञा पनि दिए।
कमिटी टू प्रोटेक्ट जर्नलिस्ट्स (सीपीजे)का अनुसार, अक्टोबर २०२३ यता गाजामा इजरायलले १७८ पत्रकारको ज्यान लिएको छ। यसले यो द्वन्द्वलाई मिडियाकर्मीहरूका लागि अहिलेसम्मकै सबैभन्दा घातक बनाएको छ।
प्रवक्ता बघाएईले सामाजिक सञ्जाल एक्समार्फत संयुक्त राष्ट्र सुरक्षा परिषद (युएनएससी)लाई ‘नरसंहार गर्ने आक्रमणकारीले आफ्ना जनताविरुद्ध थप अत्याचार गर्नबाट रोक्न तत्काल कदम चाल्न’ आग्रह गरेका छन्।
सीपीजेले पनि इरानी सरकारी टेलिभिजनमा भएको इजरायली आक्रमणले ‘स्तब्ध’ भएको प्रतिक्रिया दिएको छ। संस्थाले गाजामा प्यालेस्टिनी पत्रकारहरूको हत्यामा दण्डहीनता कायम रहनुले इजरायललाई अन्यत्र पनि मिडियालाई निशाना बनाउन ‘थप आँट दिएको’ तर्क गरेको छ।
सीपीजेले एक्समा लेखेको छ, ‘यो रक्तपात अब अन्त्य हुनुपर्छ।’
असार ३, २०८२ मंगलबार ०८:५७:१७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।