इरानको राजधानी तेहरान तुरुन्तै खाली गर्न ट्रम्पको सल्लाह

एजेन्सी : इजरायल-इरान द्वन्द्वको बीचमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको राजधानी तेहरानलाई तुरुन्तै खाली गर्न सल्लाह दिएका छन्।
‘मैले हस्ताक्षर गर्न भनेको सम्झौतामा इरानले हस्ताक्षर गर्नुपर्थ्यो। कस्तो लाजमर्दो कुरा, र मानव जीवनको बर्बादी’, ट्रम्पले आफ्नो ट्रुथ सोसियल एकाउन्टमा लेखेका छन्।
उनले अगाडि भने, ‘सरल भाषामा भन्नुपर्दा, इरानसँग आणविक हतियार हुन सक्दैन। मैले यो कुरा बारम्बार भनेको छु! सबैले तुरुन्तै तेहरान खाली गर्नुपर्छ!’
जी सेभेन शिखर सम्मेलनमा भाग लिन क्यानडा गएका ट्रम्प त्यहाँबाट एक दिन अगाडि नै फर्कदैछन्। उनको चाँडै फर्कनुको कारण मध्य पूर्वको अवस्थालाई दिइएको छ।
उता गत वर्ष अमेरिकी प्रतिनिधि सभामा निर्वाचित हुने इरानी मूलका दोस्रो व्यक्ति बनेकी यास्मिन अन्सारीले ‘सबैले’ इरानको राजधानी छोड्नु भन्ने ट्रम्पको सुझावलाई ‘निर्दयी र भयानक’ भनेकी छन्।
‘तेहरान लगभग १ करोड जनसंख्या भएको विशाल शहर हो। इरानी जनता स्वतन्त्रताको हकदार छन्, तर निर्दोष नागरिकहरूको हत्या, सामूहिक हताहतको घटना वा अर्को अन्तहीन युद्धको ट्रम्पको धम्की समाधान होइन’, अन्सारीले एक्समा भनिन्।
असार ३, २०८२ मंगलबार ०८:१२:२१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।