प्रतिनिधिसभाको बैठक बस्दै, रास्वपाको अवरोध र राप्रपाको बहिष्कार जारी रहने

काठमाडौं : आज दिउँसो १ः०० बजे सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा प्रतिनिधिसभाको बस्दैछ। आजको बैठकमा सङ्घीय निजामती सेवा विधेयक पारित गर्ने कार्यसूची तय भएको छ।
सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले ‘राज्य व्यवस्था तथा सुशासन समितिको प्रतिवेदनसहित सङ्घीय निजामती सेवा विधेयक, २०८२ माथि छलफल गरियोस्’ भन्ने प्रस्ताव पेस गर्ने कार्यसूची तय भएको हो।
सो प्रस्तावमाथि आज छलफल गरी पारित गर्ने कार्यसूची तय गरिएको छ। लामो समयपछि सङ्घीय निजामती विधेयक पारित हुन लागेको हो।
यस्तै, राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले ‘नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८२’ पेस गर्ने कार्यसूची निर्धारण गरिएको छ।
यद्यपि आज पनि भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकमाथि छानबिन हुनुपर्ने मागसहित रास्वपा र राप्रपाको विरोध र बहिष्कार जारी रहनेछ। आइतबार र सोमबारको बैठकमा रास्वपाले अवरोध गरेको थियो भने राप्रपाले दुवै दिनको बैठक बहिष्कार गरेको थियो।
असार ३, २०८२ मंगलबार ०७:३३:५० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।