ऐतिहासिक तेस्रो सुपर ओभरमा नेदरल्याण्ड्ससँग नेपाल स्तब्ध

ऐतिहासिक तेस्रो सुपर ओभरमा नेदरल्याण्ड्ससँग नेपाल स्तब्ध

काठमाडौं : स्कटल्याण्डमा जारी त्रिदेशीय टी-२०आई शृंखलाअन्तर्गत आफ्नो पहिलो खेलमा नेपालले नाटकीय हार बेहोरेको छ। एक असाधारण खेलमा नेपाल तेस्रो सुपर ओभरमा नेदरल्याण्ड्ससँग पराजित भएको हो।

निर्धारित २० ओभरको खेल टाइ भएपछि खेल सुपर ओभरमा धकेलिएको थियो। तर, त्यसपछिका पहिलो र दोस्रो सुपर ओभर पनि बराबरीमा सकिएपछि खेल क्रिकेट इतिहासकै दुर्लभ तेस्रो सुपर ओभरमा पुगेको थियो। तेस्रो सुपर ओभरमा भने नेदरल्याण्ड्सले बाजी मार्दै खेल आफ्नो पक्षमा पार्यो।

सुपर ओभरको रोमाञ्च:
पहिलो सुपर ओभर: पहिले ब्याटिङ गरेको नेपालले १९ रन बनाएर नेदरल्याण्ड्सलाई २० रनको लक्ष्य दियो। जवाफमा नेदरल्याण्ड्सले पनि १९ रन नै बनाएपछि खेल पुनः टाइ भयो।

दोस्रो सुपर ओभर: यसपटक पहिले ब्याटिङ गरेको नेदरल्याण्ड्सले १७ रन बनायो। नेपालले पनि १७ रन नै जोडेपछि खेल तेस्रोपटक सुपर ओभरमा प्रवेश गर्यो।

तेस्रो सुपर ओभर: निर्णायक मानिएको तेस्रो सुपर ओभर नेपालका लागि खराब रह्यो। पहिले ब्याटिङमा आएको नेपालले रन नै जोड्न सकेन। कप्तान रोहित पौडेल पहिलो बलमै आउट भए भने रुपेश सिंह दुई बल डट खेलेर चौथो बलमा आउट भए। यसरी नेपालले कुनै रन बनाउन नसक्दा नेदरल्याण्ड्सले १ रनको झिनो लक्ष्य पायो। नेदरल्याण्ड्सका लागि माइकल लेभिटले पहिलो बलमै छक्का प्रहार गर्दै खेल समाप्त गरे र जित दिलाए।

निर्धारित २० ओभरको खेल:
त्यसअघि, निर्धारित २० ओभरको खेल पनि उत्तिकै रोमाञ्चक बनेको थियो। नेदरल्याण्ड्सले दिएको १५३ रनको लक्ष्य पछ्याएको नेपालले पूरा २० ओभरमा ८ विकेट गुमाएर १५२ रन बनाएपछि खेल टाइ भएको थियो।

नेपाललाई अन्तिम ओभरमा जितका लागि १६ रन आवश्यक थियो। क्रिजमा सन्दीप लामिछाने र नन्दन यादव थिए। पहिलो दुई बलमा ३ रन बनेपछि नन्दनले स्ट्राइक पाए। तेस्रो बलमा चौका प्रहार गरेका नन्दनले चौथो र पाँचौं बलमा २-२ रन लिए। अन्तिम बलमा जितका लागि ५ रन आवश्यक हुँदा नन्दनले चौका प्रहार गरेपछि खेल बराबरीमा टुङ्गिएको थियो।

नेपालका लागि कप्तान रोहित पौडेलले सर्वाधिक ४८ रन बनाए पनि खेल जिताउन सकेनन्। उनले ३५ बल खेलेका थिए। कुशल भुर्तेलले ३४ रनको योगदान दिए।

बलिङतर्फ नेदरल्याण्ड्सका डानियल डोरामले उत्कृष्ट प्रदर्शन गर्दै ४ ओभरमा १४ रन मात्र खर्चेर ३ विकेट लिए। विक्रमजित सिंहले २ तथा काइल क्लेइन, बेन फ्लेचर र जाच लायनले १-१ विकेट हात पारे।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेदरल्याण्ड्सले २० ओभरमा ७ विकेट गुमाएर १५२ रन बनाउँदै नेपाललाई १५३ रनको लक्ष्य दिएको थियो। नेदरल्याण्ड्सका लागि तेजा निदामानुरुले सर्वाधिक ३५ रन बनाएका थिए भने विक्रमजित सिंहले ३० तथा साकिब जुलफिकरले अविजित २४ रन जोडे। ओपनर माइकल लेभिटले २० र म्याक्स ओ डाउडले १९ रन बनाए।

नेपालका लागि सन्दीप लामिछानेले किफायती बलिङ गर्दै ४ ओभरमा १८ रन दिएर ३ विकेट लिए। नन्दन यादवले २.५ ओभरमा १८ रन दिएर २ विकेट लिए भने ललित राजवंशी र कुशल भुर्तेलले १-१ विकेट हात पारे।

यस खेलबाट ब्याटर किरण ठगुन्ना र बलर रुपेश सिंहले नेपाली राष्ट्रिय टोलीबाट टी-२०आईमा डेब्यू गरेका छन्।

असार ३, २०८२ मंगलबार ०७:१४:४७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।