पाल्पामा बोलेरो जिप दुर्घटना : दुई जनाको मृत्यु, एक गम्भीर घाइते

पाल्पामा बोलेरो जिप दुर्घटना : दुई जनाको मृत्यु, एक गम्भीर घाइते

पाल्पा : पाल्पाको पूर्वखोला गाउँपालिका–५ स्थित आर्यभञ्ज्याङ-रामपुर कच्ची सडकखण्डमा बोलेरो जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। दुर्घटनामा एकजना गम्भीर घाइते भएका छन्।

अण्डा बोकेको लु १ च ६७५६ नम्बरको बोलेरो जिप आर्यभञ्ज्याङबाट रामपुरतर्फ जाँदै गर्दा साँझ दुर्घटना भएको हो।

दुर्घटनामा परी बगनासकाली गाउँपालिका–१ गाप्टुङ घर भई हाल बुटवल उपमहानगरपालिका–११ मा बसोबास गर्दै आएका ४६ वर्षीय सवारीधनी विनोद ढुङ्गाना र अर्का एक अन्दाजी ४५ वर्षीय अज्ञात पुरुषको ज्यान गएको जिल्ला प्रहरी कार्यालय पाल्पाका डीएसपी सुनिल मल्लले जानकारी दिए।

ढुङ्गानाको लुम्बिनी मेडिकल कलेज, प्रभासमा उपचारका क्रममा र अर्का व्यक्तिको मिसन अस्पताल, पाल्पामा मृत्यु भएको हो।

दुर्घटनामा चालक राजु खड्का गम्भीर घाइते भएका छन्। उनको लुम्बिनी मेडिकल कलेज, प्रभासमा उपचार भइरहेको प्रहरीले जनाएको छ। बोलेरो सडकबाट करिब ३०० मिटर तल खसेको थियो। दुर्घटनाको कारण भने अझै खुल्न बाँकी रहेको र घटनाको अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

असार २, २०८२ सोमबार २१:०३:४६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।