‘नेपालका ९२ प्रतिशत व्यक्तिमा यौन चाहनाको कमी’

‘नेपालका ९२ प्रतिशत व्यक्तिमा यौन चाहनाको कमी’

काठमाडौंः नेपालमा ३० वर्षभन्दा माथिका ७२ प्रतिशत पुरुष र ६७ प्रतिशत महिलामा यौन दुर्बलता रहेको पाइएको छ। 

सन् २०२४ मा तीन हजार तीन सय ८२ जना विवाहित वयस्क व्यक्तिमा गरिएको यौन दुर्बलतासम्बन्धी राष्ट्रिय सर्वेक्षणमा यस्तो नतिजा देखिएको स्थानीय एकीकृत विकास समाज नेपाल (सोलिड नेपाल)ले जनाएको छ। 

नेपालका सातवटै प्रदेशहरू र तीनवटै भौगोलिक क्षेत्रहरू समेटिने गरी ३४ जिल्लाका विवाहित पुरुष र महिलामा गरिएको सो अध्ययनले लुकेको यौनसँग सम्बन्धित विषयलाई उजागर गर्न सफल भएको सोलिड नेपालले जनाएको छ।

सोमबार आयोजित कार्यक्रममा अध्ययनको नतिजा सार्वजनिक गर्दै स्वास्थ्य सेवा विभाग अन्तर्गतको परिवार कल्याण महाशाखा र संयुक्त राष्ट्र संघीय जनसंख्या कोष लगायतको संस्थाको सहयोगमा सोलिड नेपालले यौन दुर्बलता सम्बन्धी यस्तो अध्ययन गरेको सोलिड नेपालका प्रमुख अनुसन्धानकर्ता डा. खेम कार्कीले जानकारी दिए। ‘यौन दुर्बलताको दर विश्वमा नै बढ्दै गएको देखिएको छ,’उनले भने। 

विश्वमा नै औषतमा करिब ४९ प्रतिशत महिला र ४३ प्रतिशत पुरुषले कुनै न कुनै प्रकारको यौन दुर्बलताको अनुभव गरेको तथ्याङक रहेको डा. कार्कीले बताए। 

जसमध्ये एशियाली देशका नागरिकहरूमा यौन दुर्बलताको समस्या झन धेरै रहेको देखिएको तथ्यांकमा उल्लेख छ। 
नेपालमा गरिएको यो अध्ययनले यौन दुर्बलता हुने ७२ प्रतिशत पुरुषमध्ये पाँच प्रतिशत वयस्क पुरुषहरूको गम्भीर दुर्बलता देखिएको र ३२ प्रतिशत पुरुषको सामान्य प्रकारको यौन दुर्बलता देखिएको उल्लेख छ। 

त्यसैगरी ९२ प्रतिशत व्यक्ति (महिला र पुरुष)मा यौन चाहाना नै नहुने पाइएको अध्ययनमा देखिएको उल्लेख छ। जसले गर्दा उनीहरूको जीवन तनावपूर्ण हुनुका साथै स्वास्थ्यमा केही न केही समस्या छ भन्ने संकेत देखिएको समेत अध्ययनमा उल्लेख छ।  

अध्ययनमा यौन सम्पर्क नै गरिहाले पनि प्रत्येक चारजनामध्ये तीन जनाले चरम आनन्द प्राप्त गर्नै नसकेको देखिएको अध्ययनमा उल्लेख छ। यौन सम्पर्क गर्ने जोडीमध्ये एकले यौनआनन्द प्राप्त गर्ने र अर्कोले नगर्ने अवस्थाले यौनजोडी सम्बन्धमा चिसोपन ल्याउने सक्ने देखिएको डा. कार्कीले बताए। 

‘यहिँबाट घरेलु हिंसाको सुरुवात हुन्छ,’उनले भने,‘प्रत्येक चारजना पुरुषमध्ये तीनजना र प्रत्येक पाँचजना महिलामध्ये तीनजनाले समग्रमा यौन सन्तुष्टि प्राप्त गर्ने नसक्ने देखियो।’

अध्ययन अनुसार महिला र पुरुष दुवैमा रहेको यौन दुर्बलताको स्तर सबैभन्दा धेरै मधेश प्रदेशमा ७३ प्रतिशत, त्यसपछि कर्णाली प्रदेशमा ७१ प्रतिशत रहेको देखिएको छ। 

यो अध्ययनले विकासको दृष्टिकोणले पछाडि परेका ठाउँमा यौन दुर्बलता पनि बढी हुनसक्ने अनुमान लगाउने संकेत देखिएको डा. कार्कीले बताए। 

यौन दुर्बलताको प्रमुख कारण मानसिक तनाव रहेको भन्दै यो गरिबी र अभावसँग जोडिएको उनले बताए। अध्ययन अनुसार १८ भन्दा कम उमेरमा विवाह गर्ने व्यक्तिमा यौन दुर्बलताको दर ६८ प्रतिशत, २५ वर्ष पुरा भएर विवाह गर्नेहरूमा यौन दुर्बलताको दर ६१ प्रतिशत भन्दा उच्च रहेको देखिएको छ। 

त्यसैले बालविवाहले महिला तथा पुरुषको यौन जीवनमा पनि नकारात्मक प्रभाव पारेको देखिएको डा. कार्कीले बताए। 
अस्वस्थकर खानपीनले समेत यौन दुर्बलता बढाएको देखिएकाले सन्तुलित खानपान तथा व्यवस्थित जीवनशैलीमा ध्यान दिन उनको सुझाव छ। त्यसैगरी धेरै मोटोपन भएका व्यक्तिहरूमा मोटोपन नभएको व्यक्तिहरूको तुलनामा बढी यौन दुर्बलता देखिएको छ। उच्च रक्तचाप भएका व्यक्ति र रगतमा चिनीको मात्रा बढी भएका व्यक्तिहरूमा पनि यौन दुर्बलताको अवस्था बढी देखिएको छ। यौन दुर्बलताको कारणहरूमध्ये नसर्ने रोगहरू प्रमुख कारणहरू मानिन्छन्। त्यसैले यौन दुर्बलता सम्बन्धी रोकथाम तथा उपचारलाई नसर्ने रोगको रोकथाम तथा नियन्त्रण सम्बन्धी कार्यक्रम एकीकृत गराउनु पर्ने देखिएको डा. काकीले बताए। 

अध्ययनले सुर्तीजन्य पदार्थ सेवन र मदिराजन्य पदार्थको सेवनले पनि यौन दुर्बलता बढाएको देखाएको छ। लामो समय सुर्ती सेवन गरेर छाडेकाहरूमध्ये ८० प्रतिशतमा यौन दुर्बलता देखिएको छ।

असार २, २०८२ सोमबार १८:३९:५८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।