वन मुद्दामा ५० लाख धरौटी बुझाएर छुटे बागमतीका निलम्बित मेयर भरत थापा

सर्लाही : सर्लाहीको बागमती नगरपालिकाका निलम्बित मेयर भरतकुमार थापा वन सम्बन्धी मुद्दामा ५० लाख रुपियाँ धरौटीमा रिहा भए। डिभिजन वन कार्यालय सर्लाहीले नगरप्रमुख थापासहित छ जनाविरुद्ध वैशाख ११ गते सर्लाही जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो।
सागरनाथ वन विकास परियोजनाको मातहतमा पर्ने वनको जग्गा अतिक्रमण गरेर बागमती माछा पोखरी (भरत ताल) निर्माण गरेपछि मेयर थापासहितले वन क्षेत्रको जग्गा अतिक्रमण गरेर ताल निर्माण गरेको, ढुङ्गा गिट्टी, बालुवा उत्खनन् गरेको लगायतको विषयमा एक अर्ब ४९ करोड ३९ लाख ४३ हजार रुपैयाँ बिगो दाबीसहित मुद्दा दर्ता गराएको थियो।
थापा अदालतमा अदालतमा आफैँ उपस्थित भएपछि न्यायाधीश जीवनकुमार भण्डारीको इजलासमा थुनछेक बहस सुरु भएको थियो। सोही इजलासले सोमबार थापालाई ५० लाख रुपियाँ धरौटी माग्यो।
वन मुद्दामा बागमती नगरपालिकाकी निलम्बित उपप्रमुख लीलाकुमारी मोक्तान, नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत विमलकुमार पोखरेल, तत्कालीन लेखा अधिकृत विश्वराज पोखरेल, इन्जिनियर सागर पौडेल र जिल्ला समन्वय समिति सर्लाहीका तत्कालीन प्रमुख मेथुर चौधरी समेत प्रतिवादी छन्। पाँच अभियुक्त अझैँ फरार छन्। मेयर थापासहितमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अकुत सम्पत्ति आर्जन र भ्रष्टाचार अभियोगमा थप तीन वटा मुद्दा दायर गरेको छ।
मेयर थापा कुमार पौडेल हत्यामा समेत जोडिएका व्यक्ति हुन्। मेयरको रूपमा थापाले गरेको बदमासीबारे उकेराले शृङ्खलाबद्ध रूपमा प्रमाणसहित समाचार प्रकाशित गर्दै आइरहेको छ।
असार २, २०८२ सोमबार १८:३७:३० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।