पत्रकार दिलभूषण पाठकलाई कानून बमोजिम बाहेक धरपकड नगर्न अदालतको आदेश, असार ५ मा छलफलमा बोलायो

काठमाडौं : पत्रकार दिलभूषण पाठकलाई कानून बमोजिम बाहेक पक्राउ नगर्न उच्च अदालत पाटनले अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ।
यूट्युब च्यानलमा हिल्टन होटेलमा कांग्रेस सभापति शेरबहादुर देउवा र परराष्ट्रमन्त्री आरजु राणा देउवाका छोरा जयवीर सिंह देउवाको लगानीसम्बन्धी सामग्री प्रसारण गरेपछि साइबर ब्यूरोमा उजुरी परेको थियो। त्यसैको आधारमा जिल्ला अदालत काठमाडौंबाट उनको नाममा पक्राउ पुर्जी जारी भएको थियो।
न्यायाधीश ऋषिराज भण्डारीको एकल इजलासले सोमबार सुनुवाइ गर्दै १५ दिनभित्र लिखित जवाफ माग गर्दै अन्तरिम आदेशबारे छलफल गर्न दुवै पक्षलाई असार ५ गते बोलाएको छ। आदेशमा पाठकलाई कानून बमोजिम बाहेक धरपकड नगर्न नगराउन भनिएको छ।
पाठकले आफ्नो यूट्युव च्यानलमा ‘हिल्टनमा जयवीर देउवाको पैसा ?’ शीर्षकमा सामग्री प्रस्तुत गरेका थिए, जसमा होटलको सेयर खरिद-बिक्रीमा जयवीरको संलग्नताको दाबी गरिएको थियो।
कान्तिपुर टेलिभिजनबाट बिदा भएपछि उनले आफ्नो यूट्यूब च्यानलमा विभिन्न समाचारमूलक सामग्री प्रशारण गरे पनि उनले सो च्यानल कम्पनी अन्तर्गत चलाएका थिएनन्। च्यानल कम्पनी अन्तर्गत नचलाएको, सूचना विभाग र प्रेस काउन्सिल नेपालमा समेत दर्ता र सूचीकृत नभएको खुलेपछि जयविरले साइबर ब्यूरोमा जाहेरी दिएपछि पक्राउ प्रक्रिया अगाडि बढेको थियो।
बोलेको र लेखेको आधारमा ब्यक्तीमाथि साइबर क्राइमको अभियोग लगाएको भन्दै विरोध शुरु भएको थियो। सोमबारको आदेशपछि असार ५ सम्म पाठक पक्राउ पर्नबाट जोगिएका छन्। उनी अहिले भुमिगत बस्दै आएका छन्।
असार २, २०८२ सोमबार १८:१७:५९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।