‘नेपाल क्यान मुभ’ को ठगी धन्दा, अष्ट्रेलियामा सर्भर राखेर नेपालमा कर छली

काठमाडौं : काठमाडौं तीनकुनेमा रहेको ‘नेपाल क्यान मुभ प्रालि’ले अष्ट्रेलियामा सर्भर राखेर नेपालमा व्यवसाय गर्यो। तर सरकारलाई कर भने तिरेन। यस्तो ठगी धन्दा बारे खुलेपछि राजस्व अनुसन्धान विभागले झन्डै एक अर्ब ३७ करोड बराबर असुल उपर गर्नुपर्ने मागदाबीसहित उच्च अदालत पाटनमा मुद्दा हालेको छ।
विभागका अनुसार कम्पनीका शेयरधनी र सञ्चालकहरू सुदीप आचार्य, जीवन ज्ञवाली, गङ्गाबहादुर थापा, मनिषप्रसाद आचार्य, मिठु पौडेल र उप–कार्यकारी निर्देशक सङ्गम पौडेलले मिलेमतो गरेर यो धन्दा चलाएका थिए।
करिब ६८ करोडभन्दा बढीको कर छली गरेर त्यसको डबल जरिवाना जोड्दा एक अर्ब ३६ करोड ८८ लाख रुपैयाँ असुल गर्नुपर्ने दाबी गरिएको छ।
तीनकुनेस्थित अफिसमा छापा मार्दा अनलाइन कारोबारको हिसाब–किताब, ट्रायल ब्यालेन्सलगायत कागजातहरू फेला परेपछि यसबारे खुलेको हो। कम्पनीले म्यानुअल बिल बनाउँदै वास्तविक आम्दानी लुकाएको र त्यसअनुसार मूल्य अभिवृद्धि कर र आयकर तिरेको पाइएन।
सुदीप आचार्य र जीवन ज्ञवाली भने विभागले पटकपटक बोलाउँदा पनि फरार छन्। विभागले ती दुईसँगै बाँकी सञ्चालकहरूमाथि पनि राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐनअनुसार कारबाही गर्न माग गरेको छ।
‘उनीहरूले राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ को दफा ३ ले निषेध गरेको कार्य तथा सोही ऐनको दफा ४ को खण्ड (क), (च) र (झ) बमोजिमको कसुर गरेको देखिएकाले प्रतिवादी शेयरधनी/सञ्चालकहरू सुदीप आचार्य, जीवन ज्ञवाली, गङ्गाबहादुर थापा, मनिषप्रसाद आचार्य र मिठु पौडेलसमेतलाई विस्तृत अनुसन्धान तथा तहकिकात प्रतिवेदनको बिगो गणना तालिकाअनुसार बिगो रकम असुल गर्ने तथा बिगोको शत्प्रतिशत जरिवानासमेत गरी एक अर्ब ३६ करोड ८८ लाख ११ हजार ५२० असुलउपर गरी त्यसबाट कानुनसम्मत् ब्याजसमेत लगाई कैद सजायको मागदावी लिइएको छ,’ विभागले भनेको छ।
कम्पनीका उप–कार्यकारी निर्देशक सङ्गम पौडेलले “मतियार”को भूमिका खेलेको भन्दै अरूको जति सजाय नदिई आधा सजाय माग गरिएको छ। साथै, अपराध पीडित संरक्षण ऐनअनुसार क्षतिपूर्ति तिराउने मागसमेत दर्ता गरिएको छ।
असार २, २०८२ सोमबार १६:१७:४० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।