‘अब हाँस्छ अमेरिका २’ कार्यक्रम रद्द, कलाकारहरूले आचरणविपरीतको कार्य गरेको आयोजकको आरोप

‘अब हाँस्छ अमेरिका २’ कार्यक्रम रद्द, कलाकारहरूले आचरणविपरीतको कार्य गरेको आयोजकको आरोप

काठमाडौं : करिब सात महिनाअघि घोषणा गरिएका ‘अब हाँस्छ अमेरिका २’ नामक कार्यक्रम रद्द भएको छ। आयोजक टिम फ्लाइ नेपालले एक विज्ञप्ति जारी गर्दै कार्यक्रम रद्द भएको जनाएको हो।

गत पुसमा काठमाडौंको बत्तिसपुतलीमा एक कार्यक्रमबीच ‘अब गाउँछ अमेरिका २’, ‘अब हाँस्छ अमेरिका २’ र ‘अब सुन्छ अमेरिका’ गरी तीन कार्यक्रम घोषणा गरिएको थियो। जसमध्ये ‘अब हाँस्छ अमेरिका २’ चाहिँ रद्द भएको हो। ‘अब हाँस्छ अमेरिका २’ मा कमेडी दरबारका कलाकारहरू मिस पवी, पवन खतिवडा, सुजीता श्रेष्ठ लगायतले प्रस्तुति दिने भनिएको थियो।

त्यसैगरी ‘अब गाउँछ अमेरिका २’ मा गायक बद्री पङ्गेनी, प्रताप दास, गायिका कला लम्साल, एलिना चौहानको प्रस्तुति रहने तय भएको थियो भने ‘अब सुन्छ अमेरिका’ अन्तर्गत कवि प्रदीप रोदन र साइग्रेस पोखरेलले आफ्ना सिर्जना सुनाउने कार्यक्रम थियो। यी कार्यक्रमहरू अमेरिकाको न्युयोर्क, वासिङ्टन डिसी, ओहायो, कोलोराडो, बोस्टन, पेन्सेल्भेनिया, सिकागो र क्यालिफोर्निया लगायतका सहरमा गर्ने योजना थियो।

तीनमध्ये ‘अब सुन्छ अमेरिका’को कार्यक्रमहरू जारी रहेको र ‘अब गाउँछ अमेरिका २’का कार्यक्रमहरू छिट्टै हुने भनिएको छ।

यसैबीच, आयोजक फ्लाइ नेपालका अध्यक्ष विनोद अधिकारीका अनुसार, फ्लाइ नेपालले सन् २०२५ मा हास्य, गायन र साहित्य विधाका कलाकारलाई अमेरिका भ्रमण गराउने उद्देश्यले यी तीन कार्यक्रम घोषणा गरेको थियो।

तर, ‘अब हाँस्छ अमेरिका २’ का लागि अनुबन्धित कलाकारहरूको टोलीले उस्तै प्रकृतिको अर्को कार्यक्रमका लागि अमेरिका आउने सम्झौता गरेको पाइएपछि कार्यक्रम रद्द गर्नुपरेको उनले उल्लेख गरेका छन्।

उनले यसलाई कलाकारहरूको व्यावसायिक धर्म विपरीतको आचरण भन्दै ‘अब हाँस्छ अमेरिका २’ का लागि फ्लाइ नेपासँग सम्झौता गरेका कलाकारहरू विक्की अग्रवाल, विकास अर्याल, सुन्दर खनाल, पवन खतिवडा, मिस पवी, सुजिता श्रेष्ठ लगायतसँगको सम्झौता रद्द गरिएको जनाएका छन्।

उनले थपेका छन्,‘फ्लाई नेपासँग कार्यक्रमका लागि सम्झौता गरिसकेको अवस्थामा उस्तै प्रकृतिको कार्यक्रमका लागि सम्झौता गर्नुलाई हामीले कलाकारको व्यावसायिक धर्म प्रतिकुल आचरणको रुपमा बुझेको छौँ।’

यस विषयमा बुझ्न खोज्दा ‘कमेडी दरबार’का कलाकार सुन्दर खनालले आफूहरू अर्को कार्यक्रममा अनुबन्धित भएकाले फ्लाइ नेपालको कार्यक्रममा सहभागी नहुने निर्णय गरेको बताए।

उनले भने, ‘हामीले अर्को कार्यक्रममा सहभागी हुने भएकाले यताको कार्यक्रममा सहभागी नहुने भएका थियौँ। त्यसकारण उहाँहरूले आफ्नोतर्फबाट स्पष्ट पार्नुभएको हो। यसमा अन्य कुनै कारण छैन।’

अर्का कलाकार पवन खतिवडा (म्याकुरी)ले पनि यस्तै प्रकृतिको अर्को कार्यक्रममा कमेडी दरबारका १३ जना जाने पक्का भएपछि छ जना मात्र जाने कार्यक्रम रद्द गरिएको बताए।

‘अब हाँस्छ अमेरिका २ कार्यक्रममा कमेडी दरबारका छ जना मात्र थियौँ। अर्को कार्यक्रममा १३ जना नै जाने कुरा भयो। त्यसैले हामीले अर्को कार्यक्रम रोजेका हौँ। भिसाका लागि प्रक्रिया सुरू भइसक्यो।’

असार २, २०८२ सोमबार १४:१३:३९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।