संसदको गतिरोध अन्त्य गर्न पाँच दलका प्रमुख सचेतकसँग सभामुखको छलफल, सहमतिको प्रयास जारी

संसदको गतिरोध अन्त्य गर्न पाँच दलका प्रमुख सचेतकसँग सभामुखको छलफल, सहमतिको प्रयास जारी

काठमाडौं : संसदको जारी अवरोधलाई अन्त्य गर्ने प्रयासमा सभामुख देवराज घिमिरेले प्रमुख पाँच राजनीतिक दलका प्रमुख सचेतकहरूसँग छलफल गरेका छन्।

बानेश्वरस्थित संसद भवन परिसरमा भएको यो छलफलमा संसदमा देखिएको गतिरोध हटाउने विषयमा सहमति खोज्ने प्रयास भइरहेको छ।

भिजिट भिसा प्रकरणमा गृहमन्त्रीमाथि छानबिनको माग राख्दै प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्र र अन्य प्रतिपक्षी दलहरूले यसअघि संसद बैठक अवरुद्ध गर्दै आएको थियो।

माओवादीसँगको सहमतिपछि अवरोध हट्ने अपेक्षा गरिए पनि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लगायतका केही दलले गृहमन्त्री रमेश लेखकमाथि छानबिन नभएको भन्दै संसद बैठक अवरुद्ध गर्दै आएका छन्।

यसै अवरोधका कारण संसदको नियमित कार्यसूची प्रभावित भएपछि सभामुखले सहमति जुटाउन पहल थालेका हुन्।

सभामुख देवराज घिमिरेको आह्वानमा भएको यो छलफलमा कानून, न्याय तथा संसदीय मामिला मन्त्री अजयकुमार चौरसिया र उपसभामुख इन्दिरा राना मगर पनि सहभागी छन्।

यस्तै, छलफलमा प्रमुख सत्तारुढ दल एमालेका महेशकुमार बर्तौला, सत्ता साझेदार नेपाली कांग्रेसका श्यामकुमार घिमिरे, प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रका हितराज पाण्डे, रास्वपाका सन्तोष परियार र राप्रपाका ज्ञानबहादुर शाही रहेका छन्।

सभामुखले संसदमा जारी अवरोधका विषयमा आज बिहान पनि रास्वपाका कार्यवाहक सभापति डीपी अर्याल र प्रमुख सचेतक सन्तोष परियारसँग बालुवाटारस्थित सरकारी निवासमा छलफल गरेका थिए।

यद्यपि, उक्त छलफलले मात्र संसदको अवरोध हटाउन नसकेपछि सभामुखले सहमतिका लागि प्रमुख पाँच दलका प्रमुख सचेतकहरूलाई छलफलका लागि बोलाएका हुन्।

असार २, २०८२ सोमबार १२:१८:०७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।