संसद बैठक बहिष्कार गरेको दिनको भत्ता नलिने राप्रपा संसदीय दलको निर्णय

संसद बैठक बहिष्कार गरेको दिनको भत्ता नलिने राप्रपा संसदीय दलको निर्णय

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलले २०८२ असार १ गते बसेको प्रतिनिधि सभाको बैठकमा उपस्थित नभएको दिनको बैठक भत्ता नलिने निर्णय गरेको छ।

पार्टीले ‘भिजिट भिसा प्रकरण’ लगायतका माग राखी संसद बैठकमा अवरोध भइरहेका बेला पनि जबर्जस्ती बैठक सञ्चालन गरिएको भन्दै सो दिनको प्रतिनिधि सभा बैठक बहिष्कार गरेको थियो।

बहिष्कार गरेको दिनको बैठक भत्ता लिनु नैतिक र सैद्धान्तिक रुपमा उचित नहुने ठहर गर्दै राप्रपाले सो दिनको बैठक भत्ता अस्वीकृत गर्ने निर्णय गरेको हो।

संघीय संसद सचिवालयलाई पत्र पठाउँदै राप्रपा संसदीय दलले असार १ गतेको बैठक बापत प्राप्त हुने बैठक भत्ता राजश्वमा फिर्ता हुने व्यवस्था गर्न आग्रह गरेको छ।

आफूहरूले बहिष्कार गरेको दिनको बैठक भत्ता उपलब्ध नगराउन पनि राप्रपाले संसद सचिवालयलाई आग्रह गरेको छ।पत्रमा राप्रपा संसदीय दलका प्रमुख सचेतक ज्ञान बहादुर शाहीले हस्ताक्षर गरेका छन्।

असार २, २०८२ सोमबार ११:४१:२८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।