सभामुखको रास्वपासँग आग्रह- ‘संवैधानिक बाध्यता छ, संसदको अवरोध हटाएर बजेट पारित गर्न सहयोग गर्नुस्’

सभामुखको रास्वपासँग आग्रह- ‘संवैधानिक बाध्यता छ, संसदको अवरोध हटाएर बजेट पारित गर्न सहयोग गर्नुस्’

काठमाडौं : संघीय संसदका सभामुख देवराज घिमिरेले प्रतिनिधिसभामा जारी अवरोध अन्त्य गरी आगामी आर्थिक वर्षको विनियोजन विधेयक (बजेट) पारित गर्न सहयोग गर्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेताहरूसँग आग्रह गरेका छन्।

सभामुख घिमिरेले आज बिहान आफ्नो सरकारी निवास बालुवाटारमा रास्वपाका कार्यवाहक सभापति डोलप्रसाद (डीपी) अर्याल र प्रमुख सचेतक सन्तोष परियारसँग भेटवार्ता गर्दै यस्तो आग्रह गरेका हुन्।

करिब एक घण्टा लामो भेटमा सभामुख घिमिरेले विगत दुई सातादेखि विपक्षी दलहरूको अवरोधका कारण संसद बन्धक बनेको भन्दै चिन्ता व्यक्त गरे। उनले बजेटबारे व्यापक छलफल गरी देशलाई समृद्ध बनाउनुपर्ने महत्त्वपूर्ण समयमा संसद अवरुद्ध हुँदा जनतामा नकारात्मक सन्देश गएको बताए।

‘विपक्षीले उठाएका मुद्दाहरू गम्भीर छन्, त्यही भएर मैले दुई सातासम्म संसदलाई सहमतिका लागि रोकेको हुँ,’ सभामुखले भेटमा भने, ‘तर, अब संसद रोक्ने अवस्था छैन। संसदको नेतृत्वका हिसाबले मैले संवैधानिक सीमालाई पनि ख्याल गर्नुपर्दछ।’

सभामुखले राष्ट्रिय सभाले असार ५ गतेभित्र विनियोजन विधेयक प्रतिनिधिसभाबाट पारित गरी पठाउन भनेको स्मरण गराउँदै संवैधानिक बाध्यताका कारण ‘जुनसुकै हालतमा बजेट पारित गर्नैपर्ने’ अवस्था आएको बताए।

उनले रास्वपाका नेताहरूलाई आफ्नो आन्दोलनको स्वरूप बदलेर पनि संवैधानिक सीमा र बाध्यतालाई बुझ्न आग्रह गरे। साथै, सरकारसँग संवादका लागि आवश्यक सहजीकरण गर्न आफू तयार रहेको र गम्भीर भएर छलफलका माध्यमबाट निकास खोज्न पनि उनले आह्वान गरे।

जवाफमा रास्वपाका कार्यवाहक सभापति अर्याल र प्रमुख सचेतक परियारले आफूहरूले उठाएका मागहरू जनताको वास्तविक समस्यासँग जोडिएकाले गम्भीर रहेको बताए। उनीहरूले आफ्ना माग र मुद्दामा सरकार गम्भीर नभएकाले संसद अवरोध गर्न बाध्यात्मक अवस्था आएको स्पष्ट पारे।

रास्वपा नेताहरूले अहिलेकै अवस्थामा आफूहरू मुद्दाबाट पछाडि फर्कन सक्ने अवस्थामा नरहेको अडान दोहोर्याए। यद्यपि, अहिलेको गतिरोध अन्त्यका लागि छलफल र संवादमा भने आफूहरू रहेको उनीहरूले सभामुखलाई जानकारी गराए।

असार २, २०८२ सोमबार ११:३५:३५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।