मेसु बन्न नपाएपछि डा. गौतम : काम पनि गर्दैनन्, सुविधा पनि छाड्दैनन्

बुटवल : मेडिकल सुपरिटेन्डेन्ट (मेसु) नियुक्तिमा असन्तुष्ट लुम्बिनी प्रादेशिक अस्पतालमा कार्यरत चिकित्सक डा. विष्णु गौतमले तोकिएको काम नगरीक सुविधा लिइरहेका छन्।
अस्पताल प्रशासनले दिएको इमर्जेन्सी विभागको जिम्मेवारी नसम्हाली उनले सुविधा भने लिइरहेका छन्।
डा. गौतमले अस्पतालको इमर्जेन्सी विभागको जिम्मेवारी २०८१ असोज २४ गते पाएका थिए। तर, उनी अहिलेसम्म शाखामा हाजिर नभएको इमर्जेन्सी विभागका इन्चार्ज रामप्रसाद अर्यालले जानकारी दिए।
विभागको जिम्मेवारी समाल्न आनाकानी गरेपछि अस्पतालले २०८१ कात्तिक १२ मा पत्र काट्दै सम्बन्धित फाँटमा जान सचेत गराएको थियो। सचेत गराउँदा पनि उनी आफ्नो फाँटमा नगएपछि अस्पताल प्रशासनले दोस्रो पटक मंसिर २३ मा चेतावनीमूलक पत्र काट्दै पुनः सम्बन्धित फाँटमा हाजिर हुन भनेको थियो।
साथै अस्पतालले यसको जानकारी प्रदेशको स्वास्थ्य मन्त्रालयलाई पनि गराएको थियो। तर पनि उनको अटेर गरिरहे।
डा. गौतम नेपाल सरकारका जनरल हेल्थ सर्भिस (जहेस) हुन्। अस्पतालतमा काम नगरे पनि उनले निजी क्लिनिकमा भने स्त्रीरोग विशेषज्ञ सम्बन्धी काम गर्दै आएका छन्।
यसबारे प्रतिक्रिया दिँदै उनले आफ्नो विशेषज्ञता सोही विषयमा भएकाले स्त्रीरोग विशेषज्ञको रूपमा काम गर्नु स्वाभाविक रहेको बताए।
किन सम्हालेनन्न विभाग ?
अस्पतालमा मेसु नियुक्तिका लागि उनी सर्वोच्च गएका थिए। तर सर्वोच्चले रिट खारेज गरेर डा. इन्द्र ढकाललाई नै मेसुमा कायम गरिदिएपछि उनले असन्तुष्टि पोखिरहेका छन्।
आफू ११औं तहको हुँदाहुँदै दशौं तहकोलाई मेसु नियुक्त गरिएको भन्दै उनले असन्तुष्टिस्वरुप अस्पतालमा काम नै नगरी सेवा सुविधा लिइरहेका छन्।
२०७९ चैत २० मा डा. गौतम पाल्पाबाट कामकाजका निम्ति खटाएर लुम्बिनी प्रादेशिक अस्पतालमा आएका थिए। त्यतिबेला १०औं तहकै डा. सुदर्शन थापा मेडिकल सुपरिटेन्डेन्ट थिए। डा. थापालाई स्वीकारेर बसेका उनी सोही तहका ढकाललाई भने अस्वीकार गर्दै कामकाज नै नगरी सुविधा लिएर बसेका छन्।
‘तत्कालीन मेसु डा. सुदर्शन थापालाई स्वीकारेको सत्य हो, तर त्यतिबेलाका प्रदेशका स्वास्थ्यमन्त्री विष्णु पन्थीको आग्रह अनुसार मैले मेसुको दावी नगरी केही समय पर्खिएको थिएँ, तर अहिले मेरो स्वाभाविक दावी हुँदाहुँदै अन्यायपूर्ण निर्णय भएकाले काम गर्न नगएको हुँ’, उनले भने।
उनले आफू व्यवस्थापनबाटै ११औं तहमा गएकाले अस्पतालको नेतृत्व दावी गर्नु स्वभाविक रहेको बताए।
डा. गौतम स्त्रीरोग विशेषज्ञको रूपमा चिनिए पनि २०७७ मा उनको स्त्रीरोग विशेषज्ञता सम्बन्धी डिग्री प्रमाणपत्र नक्कली रहेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी समेत परेको थियो।
अख्तियारले त्यसको अनुसन्धान गर्ने जिम्मा लुम्बिनी प्रदेश सरकारलाई दिएको थियो। यस विषयमा डा. गौतमले उजुरी परेको साँचो भएपनि सो उजुरीमा लगाइएको आरोपमा सत्यता नभएको दाबी गरे।
डा. गौतमले लुम्बिनी प्रादेशिक अस्पतालमा काम नगरेपछि गएको पुसमा कपिलवस्तु अस्पतालमा सरुवाका निम्ति फाइल समेत उठेको थियो। तर शक्ति केन्द्रको आडमा गौतमले उक्त फाइल रोक्न सफल भएको अस्पताल स्रोतले बतायो।
यता अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. इन्द्र ढकालले भने अस्पतालले दिएको जिम्मेवारी अनुसारको भूमिका निर्वाह नगर्दा आकस्मिक विभाग प्रमुखविहीन भएको बताए।
‘अस्पतालले पटक-पटक आफ्नो कामको जिम्मेवारी निभाउन निर्देशन दिएको छ, तर उहाँ सम्बन्धित फाँटमा जानुभएको छैन’, डा. ढकालले भने।
विवादमा रमिते प्रदेश सरकार
डा. ढकाल २०८१ जेठ १८ गते लुम्बिनी प्रदेश सरकारको निर्णयबाट मेसु नियुक्त भएका थिए। सरकारको नियुक्तिविरुद्धमा अस्पतालमै कार्यरत डा विष्णु गौतम सर्वोच्च अदालत पुगेपछि गत वर्षको असार १७ गते सर्वोच्च अदालतले तत्काल मेसुको काम नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको थियो।
सर्वोच्च अदालतको भदौ ३१ को फैसलाले डा गौतमले दायर गरेको रिट खारेज गरिदिएपछि डा ढकाल पुनः मेडिकल सुपरिटेण्डेन्ट कायम भएका थिए।
असार २, २०८२ सोमबार ०९:५९:३६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।