खेलाडी आयशाको प्रसव पीडा र खुसी : शरीर चिर्दा भूकम्प आए झैँ हल्लियो, पहिलो बाबु समाउँदा कचक्कै जाला जस्तो लाग्यो

१३औं दक्षिण एसियाली खेलकुद(साग) मा तेक्वान्दोबाट नेपालका लागि दोहोरो स्वर्ण पदक दिलाउन सफल खेलाडी हुन्- आयशा शाक्य। सन् २०१० मा बङ्गलादेशमा भएको ११औं सागमा पनि उनले स्वर्ण हात पारेकी थिइन्। श्रीमान् पनि खेलाडी नै भएको कारण घरबाट पाउनुपर्ने साथमा उनले कुनै पनि कमी महसुस गर्नुपरेन।
अहिले भने उनी आफैँ खेलमा भाग लिनेभन्दा पनि प्रशिक्षणमा समय बिताउने गर्छिन्। विद्यालय स्तरमा आधारभूत तहका विद्यार्थीलाई प्रशिक्षण दिनुका साथै क्लबहरूमा पनि उनी निकै सक्रिय छिन्। कोभिड महामारीपछि साना बालबालिकाहरू यस खेलप्रति झन् आकर्षित भइरहेको उनले महसुस गरेको रहेछ।
पहिला अभिभावकहरूलाई फकाएर बालबालिकालाई सिकाउँदै आएकोमा अहिले भने अभिभावकहरू आफै पनि यसप्रति आकर्षित भइरहेको उनले बताइन्। खेलकुदको पोशाकसम्बन्धी पसलसमेत चलाइरहेकी उनले आफैँ भने खेलमा धेरै भाग लिन पाएकी छैनन्। तर, आफ्नो खेल्ने इच्छा भने उनले मर्न दिएकी छैनन्।
उनी दुई सन्तानकी आमासमेत हुन्। उनै खेलाडी आयशाले उकेराको नियमित स्तम्भ ‘प्रसव पीडा र खुसी’मा आफ्नो मातृत्व अनुभव यसरी सुनाइन्:
०००
ललितपुरमा सानैदेखि मेरो टोलका दाजुहरूसँग बसेर बाहिरी खेलहरू खेल्थेँ। घरमा पनि दुई दाजुभाइ अनि म एक्लै छोरी। दाजुहरूसँग खेलमा रमाएको देख्दा बाबाले पनि ‘यसले खेलमा चासो देखाइरहेको छ’ भनेर कहिले पनि रोक्नुभएन। अनि ‘मार्सल आर्ट’ किन नगर्ने त भन्ने लाग्यो।
जिम्न्यास्टिकदेखि लिएर कुनै पनि खेल मैले बाँकी राखिनँ। ११/१२ वर्षको हुँदा नै मैले राष्ट्रिय खेल खेल्ने अवसर पाएँ। अनि २०६२ सालदेखि भने त अन्तर्राष्ट्रिय खेल नै खेलेँ। खेल्दाखेल्दै नै मैले आफ्नो जीवनसाथी (ओलम्पियन दीपक विष्ट) भेटेकी हुँ। उहाँ हामीभन्दा सिनियर हुनुहुन्थ्यो। उहाँको खेलदेखि लिएर सिकाउने तरिका सबै मन पर्दै गयो।
म राष्ट्रिय खेलमा आउँदा उहाँ सागमा स्वर्णपदक विजेता भइसक्नुभएको थियो। उहाँ हाम्रो क्याप्टेन पनि हुनुहुन्थ्यो। सबै कुराहरूबाट प्रभावित हुँदै गएँ। अन्तर्जातीय विवाह गर्न अहिले त गाह्रै छ, त्यो बेलामा नहुने कुरै भएन।
उहाँले खेल क्षेत्रमा गर्नुभएको सङ्घर्षले विवाहपछि मलाई पनि धेरै सहयोग भयो। घरमा एक किसिमको खेलप्रति सकारात्मक वातावरण भइसकेको थियो। त्यही भएर बिहेपछि पनि मेरो करियर झन् राम्रो हुँदै गयो। उहाँ क्षेत्री अनि म नेवार भएपछि सांस्कृतिक र पारिवारिक वातावरण त अलि फरकपना हुने नै भयो।
बिहे गरेपछि यसो गर्नुपर्छ/उसो गर्नुपर्छ भन्ने त भनिने नै भयो। तर, समाजबाट जे कुरा आए पनि म आफैँ पनि एउटा समाज हुँ। कहीँ न कहीँ मैले पनि यस्तै केही भन्थेँ नै होला। त्यही भएर समाजले भन्यो भनेर आफूलाई सीमित राख्नुहुन्न भनेर अगाडि बढ्दै गएँ।
मलाई त आफैँलाई नै पनि प्रमाणित गरेर देखाउनु थियो। बिहेभन्दा पनि अझ आमा भएपछि मैले आफूलाई थप जिम्मेवार बनेर अगाडि बढ्न सकेँ। सन्तानलाई लगभग एक वर्षसम्म गर्भमा राख्दा महिलाको शरीर त परिवर्तन हुन्छ नै। जे होस् आफू बलियो हुनुपर्छ भन्ने लाग्थ्यो।
मेरो दुई जना सन्तान छन्। पहिलो सन्तान पनि हामीले योजना बनाएरै पूरै तयारीका साथ जन्म दियौँ। म खेलकुदमै रमाइरहेँ, खेलहरू पनि भइरहेको थियो। बीचमा साग रोकियो। अनि त्यही बेलामा नै हामी सन्तान जन्माउने समय छनोट गर्यौँ। पहिलो सन्तान बिहे भएको दुई वर्षपछि जन्मियो। मैले मेरो गर्भावस्था पनि आनन्द लिएँ।
गर्भवती भएको खबर सुनेर घरमा पनि सबै जना खुसी हुनुभयो। मेरो श्रीमान् आफैँ पनि घरको पहिलो सन्तान। अनि परिवारमा पहिलो नातिनातिना आउने खबर पाएपछि सबै जनामा निकै उत्साह थियो। करियर पनि आफ्नो ठाउँमा छँदै छ। तर, सन्तान हुनुमा पनि छुट्टै खालको रमाइलोपना हुने रहेछ।
बिहान सन्चो नहुनेदेखि लिएर खाना खान मन नलाग्ने अनि बान्ता हुने सबै भयो मलाई। तर पनि मैले नौ महिनाको यात्रा राम्रो नै बनाएँ। तुलनात्मक रूपमा मलाई त्यति धेरै गाह्रो भएको होइन। त्यसबेला गोलभेडाको अचार र भात चाहिँ मन पर्थ्यो। तर, खायो कि बान्ता भइहाल्ने।
अहिले सम्झिँदा आत्मबल पनि हो कि जस्तो लाग्छ। अब त ठूलो बाबु नै ११ वर्षको भइसक्यो। त्यतिखेर गाह्रो भए पनि अहिले महसुस गर्दा त्यो हुने नै रहेछ, त्यसले गर्दा म झन् बलियो भएँ भन्ने लाग्छ। त्यसबेलाको पीडा, एन्जाइटी, प्रेसर, तनाव त आफ्नो ठाउँ छँदैछ। अहिले बच्चा हुर्केको देख्दा, उसले आफ्नो ठाउँमा राम्रो गरिरहेको देख्दा खुसी लाग्ने रहेछ।
बच्चा जन्माउँदाको पीडा, अपरेसन गर्दाको पीडा, अपरेसनपछि चिरिएको पेट बोकेर हिँड्नुको पीडा अनि अहिले आफ्नो सन्तानको हरेक कुराहरूको प्रत्यक्षदर्शी हुन पाउँदा त्यसको ठीक उल्टो अनुभव हुन्छ। निकै आनन्दित लाग्छ।
गर्भावस्थामा मेरो तौल पनि धेरै बढेन। मैले जति खान सकेँ सन्तुलित भोजन नै खाएँ। त्यसै पनि खेलको लागि भनेर मैले नचाहिने खाना कहिले पनि खाएको छैन। शारीरिक रूपमा मैले आफूमा त्यति धेरै परिवर्तन भेटिनँ। मानसिक रूपमा चाहिँ अलि तनाव भएको याद छ। के होला, कस्तो होला भनेर मनमा कुराहरू खेलेर बसिरह्यो।
कसरी हुर्काउने होला भएर डर पनि लागेको थियो सुरूमा त। समय नपुग्दै मेरो सन्तान जन्मिन लागेको रहेछ। १/२ सेन्टिमिटर घर खुलिसकेको रहेछ। बच्चाको टाउको नै हामीले महसुस गरिसकेका थियौँ। तर मलाई प्रसव व्यथा केही पनि लागेन।
अनि अलि समय पर्खिँदा बच्चा फेरि सरेर माथि नै गएछ। त्यही भएर डाक्टरले मलाई पहिला नै अपरेसन हुनसक्छ भनेर वार्निङ दिसक्नुभएको थियो। मानसिक रूपमा पनि मैले धेरै बलियो हुनुपर्यो। नत्र म त प्राकृतिक रूपमा नै सन्तान जन्माउने भनेर तयार थिएँ।
अपरेसन के हो, कस्तो हुन्छ भनेर भिडियोहरू हेर्न थालेँ। घरमा श्रीमान् अनि परिवारका अन्य सबै सदस्य निकै उत्साहित हुनुभएको कारण मलाई धेरै ख्याल गर्नुभयो। आफ्नो कसरत र घरको कामहरूमा पनि सक्रिय नै भएँ। त्यही बेला बानेश्वरमा हाम्रो पसल पनि खुल्यो। पसलमा सक्रिय भएपछि मानसिक रूपमा धेरै कुरा सोच्नुपरेन।
अपरेसनको लागि तयार भएपछि मैले डाक्टरलाई ‘आज मिल्छ भने आजै अपरेसन गरौँ’ भनेँ। बच्चा परिपक्व भएको कारण त्यही दिन मैले अपरेसनको लागि मिति मिलाएँ। धन्न बान्ता भएन। ‘केही खाएर आएको छ भने बान्ता हुन्छ है’ भनेको थियो। तर मैले बिहान खाएर बानेश्वरदेखि ओम अस्पतालसम्म हिँडेर गएँ।
धन्न केही भएन। अपरेसन थिएटर जाँदा मलाई एकदम डर लागेको थियो। त्यो बेलामा नै आफूमा मलाई मातृत्वको अनुभव भइसकेको जस्तो लाग्छ। अहिले त अल्ट्रासाउन्ड गरेर पनि हेर्न मिल्छ। त्यो बेला हेरिएन। शारीरिक रूपमा कस्तो हुने हो, स्वस्थ हुन्छ कि हुँदैन। कति किलो जन्मिएला भनेर एकदम नर्भस भएँ।
एनेस्थेसियापछि आधा शरीर लठ्ठियो। शरीर चिर्दाखेरि भूकम्प आएको जस्तो शरीर एकछिन हल्लियो। तर एकैछिनमा बच्चा निकालियो। ओहो! यति छिटो पनि हुने रहेछ भन्ने जस्तो लागेको थियो। बरु टाँका लगाउन चाहिँ समय लाग्ने रहेछ। अपरेसनमा सजिलो हुन्छ भन्ने लागेको थियो। तर एनेस्थेसिया सकिएपछि त धेरै गाह्रो भयो। चल्न पनि मिलेन, यता चले पनि दुख्ने, उता चले पनि दुख्ने।
डाक्टरले जसरी राख्यो त्यसरी नै १५/१६ घण्टा पल्टेर बसेँ। जिउ एकदम दुखेको थियो। बाबु जन्मेको बेलामा एकदमै सानो। समाउँदा पनि कचक्क जाला जस्तो। पहिलो पटक बाबुलाई समात्दा मैले आमालाई सम्झिएँ। ओहो! यस्तो पो हुने रहेछ भन्ने लाग्यो। सायद सबै आमाहरूलाई आफ्नो बच्चा छातीमा राख्न पाउँदा त्यस्तै अनुभव लाग्छ होला। त्यसबेला त ठूलो केही जितेको जस्तो लाग्ने रहेछ।
सुरुमा बाबुलाई हेर्दा ऊ कस्तो देखिन्थ्यो भनेर पनि रमाइलो लाग्यो। सुत्केरीमा बरु केही गर्न नपाउँदा मलाई गाह्रो भएको थियो। ‘चिसो पानी नछोऊ, यो गर, त्यो नगर’ भन्ने धेरै कुराहरू सुन्नुपर्दा सीमित भएर बसेँ कि जस्तो पनि लागेको हो। चिसोमा नबस भनेपछि १२ महिना त मैले पूरै बाक्लो कपडा लगाएर चोलो, पटुकी लगाएको हो।
‘तिमी खेल्नुपर्ने मान्छे अहिले स्याहारिएन भनेपछि शरीर बिग्रिन्छ’ भन्नुभएको अहिले पनि याद आउँछ। बाबु दश महिनाको हुँदा मैले तालिम सुरू गरेको। स्तनपान राम्रो पनि भयो गाह्रो पनि भयो। दूध गानिएर आउने रहेछ। भर्खर जन्मिएको बच्चा सुतेको सुत्यै गर्ने। कहिले कहीँ बाहिर जाँदा बच्चा सम्झियो भने दूध आफैँ गानिएर आउने अनि छाती त एकदम चर्किएला जस्तो हुने रहेछ।
धेरैजसो तालिममा जाँदा पनि ‘ओहो! मेरो बच्चा छ’ भनेर सम्झिनेबित्तिकै दूध गानिएर आउँदा सम्झिन नहुने रहेछ भन्ने पनि लाग्यो। बाबु १४ महिनाको भएपछि कोरियामा प्रतिस्पर्धामा भाग लिँदा मलाई त्यस्तो लागेको थियो। दूध पनि फ्याँक्नुपर्यो। अहिले सम्झिँदा दिक्क लाग्छ।
अनि ४ वर्षपछि हाम्रो दोस्रो सन्तान भयो। पाँच वर्षपछि तयारी गर्ने भनेको। तर पनि जे हुन्छ-हुन्छ भनेर तीन/साढे तीन वर्षपछि नै हामी तयार भयौँ। घरमा पनि सबैले दोस्रो सन्तान होस् भन्ने नै चाहनुभएको थियो। पहिलो सन्तान भएपछि अर्को सन्तानको बारेमा खासमा सोचेको पनि थिइनँ। तर पनि मनमा मेरो केही एक्लो सन्तान साथीहरूको याद आउँथ्यो।
मसँग पो अरू दाजुहरू भएर मैले त्यसरी एक्लो हुनुपरेन भन्ने लाग्यो। मैले जे अनुभव गरेँ त्यो मेरो छोराले अनुभव गर्न नपाउला कि भनेर पनि दोस्रो सन्तानको बारेमा सोच्यौँ। दोस्रो सन्तान छोरी होस् भन्ने लागेको पनि थियो।
पहिलो र दोस्रो गर्भावस्थामा मैले धेरै फरक पाएँ। पहिलोमा जति खाए पनि बान्ता हुन्थ्यो। तर दोस्रोमा मैले मजाले खाएँ। खाएको पच्थ्यो पनि। त्यही भएर होला बाबुको तौल पनि राम्रो थियो। म अहिले पनि चिल्लो कम खान्छु अनि समयमै खाना खानुपर्छ। त्यही भएर आफ्नो तौल चाहिँ मेन्टेन गरि नै राखेँ।
दोस्रो पटक गर्भवती हुँदा मैले आठ महिनासम्म पनि प्रशिक्षण गरि नै राखेँ। अगाडिको सबै अनुभव पनि काम लाग्यो। त्यही भएर धेरै आफ्नो ख्याल राख्दै खेलकुदमा पनि सक्रिय भएँ। अगाडि नै अपरेसन गरेपछि दोस्रोमा जोखिम नलिने भनेर अपरेसन नै गर्नुपर्यो।
अपरेसन गर्ने भनेर एक दिन अगाडि नै अस्पतालमा राखियो। केही पनि खान दिइएन। तर मलाई भोक लागेर निकै गाह्रो भयो। पछि अपरेसन भएर बाबु निकालियो। बाबु ठूलो देखेर मैले मजाले नै खाएछु है भन्ने लागेको थियो। आफ्नो सन्तान बलियो, गोलुमोलु नै होस् भन्ने लाग्ने रहेछ।
उसको पालोमा तीन महिना पूरै घरमा बसेँ। आफूलाई धेरै चलिरहनुपर्ने बानी। केही नगरी बस्नुपर्दा त छटपटी हुने रहेछ। बीचमा त सबै काम छोडेर बस्दा मेरो संसार नै छुट्यो भन्ने लागेको थियो। अब मेरो करियर सकियो भन्ने पनि लागेको हो। तर बिस्तारै सबै राम्रो हुँदै गयो। सानो बाबुलाई पनि राम्रोसँग स्तनपान गराएँ।
दुई पटक अपरेसन गरेपछि त तालिममा मलाई गाह्रो पनि भयो। डाक्टरको सल्लाह अनुसार नै सबै गर्दै गए पनि त्यो टाँकाहरू फुत्किएला कि, चुँडिएला कि भन्ने डर पनि भयो। अहिले ठूलो बाबु सात कक्षामा पढ्दै छ। अनि सानो बाबु दुई कक्षामा। दुवैको स्वभाव एकदम भिन्न छ।
ठूलो बाबु शारीरिक रूपमा सबै बाबा जस्तो लाग्छ, अनि बानी चाहिँ मेरो जस्तो लाग्ने। बोल्नुपर्यो भने बोलिरहने। अनि बोल्न मन लागेन भने बोल्दै नबोली बस्दिने। अलि लजालु। तर कान्छो शारीरिक रूपमा म जस्तै अनि स्वभाव उसको बाबाजस्तै छ। जोसँग पनि बोल्नुपर्ने, सबैसँग घुलमिल हुन खोज्ने।
एक जना हुनु र दुई जना हुनुमा धेरै फरक हुने रहेछ। मैले नै अनुभव गर्दा एउटा मात्र हुँदा पूरै ध्यान उसमै हुने। जसले गर्दा अलि बढी ‘प्रोटेक्टिभ’ हुने रहेछ। दश महिनासम्म मैले आफू र बच्चालाई घरमै सीमित राखेँ। त्यही भएर पनि हो कि बिरामी पनि धेरै पर्थ्यो ऊ।
दोस्रो भएपछि उसैमा केन्द्रित भइने रहेछ। त्यसले गर्दा पहिलोलाई ‘बेवास्ता गरेको’ जस्तो पनि हुने रहेछ। बाबुले पनि ‘तपाईंले आजकल मलाई माया गर्नुहुन्न’ भनेर भनेको पनि हो।
अहिले त उसले भाइको ख्यालसमेत राख्ने गर्छ। होमवर्क सिकाउनेदेखि खुवाउनेसम्म सबै गर्छ। म अगाडि हुँदा झगडा गरे पनि म नहुँदा दुवै जना मिलेर बसेको देखेको छु। जे सोचेर दोस्रो सन्तानको चाह राखेको थियो त्यो देख्दै गएको छु। नत्र भए हामी दुई जना ममी-बाबु मध्ये एक जना त उनीहरूको साथमा बस्नै पर्थ्यो।
दुवै जनाले अहिले खेलमा पनि रमाइलो गरिरहेको छ। म यहाँसम्म आइपुग्दा खुसी भएँ, दुःखी भएँ। धेरै कुरा भोगेँ। बिहेदेखि दुई सन्तान जन्माउने र हुर्काउनेसम्म सबैको छुट्टै अनुभव भयो। प्रसव व्यथा भोग्नुपरेन त्यो नरमाइलो चाहिँ छ। तर, अपरेसनपछिको दुखाइ अनुभव गरेँ।
यहाँसम्म आइपुग्दा मैले धेरै कुरा सिकेँ भन्ने लाग्छ। छोरी भएर जन्मिएपछि भोग्नुपर्ने सबै कुरा भोगेछु जस्तो लाग्छ। अझै त धेरै कुरा भोग्न बाँकी नै छ। करियर, सफलता भन्ने आफ्नो ठाउँमा छ। तर पनि आमा हुनु भनेको अर्कै अनुभव रहेछ। उनीहरूलाई साथी जस्तै वातावरण दिने कोसिस गरिरहेको हुन्छु। सक्ने जति समय दिन नपाएकोमा उनीहरूले गुनासो पनि गर्छन्।
मैले आफूले सिकेको हरेक राम्रो कुरा म उनीहरूलाई सिकाउन चाहन्छु।
असार २, २०८२ सोमबार ०८:५१:३६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।