प्रतिनिधिसभाको बैठक बस्दै

काठमाडौं : प्रतिपक्षी दल राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीको निरन्तरको अवरोध र बहिष्कारका बावजुद बसिरहेको प्रतिनिधि सभा बैठक आज पनि बस्दैछ।
अवरोधका बीच बैठक विहान ११ बजे सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा बस्नेछ। बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बजेटसँग आश्रित दुई विधेयक प्रस्तुत गर्नुहुने सम्भावित कार्यसूची छ।
सङ्घीय संसद् सचिवालयका अनुसार, अर्थमन्त्रीले ‘विनियोजन विधेयक, २०८२’ र ‘राष्ट्र ऋण उठाउने विधेयक, २०८२’ प्रस्तुत गर्ने कार्यसूची छ। यस्तै, अर्थमन्त्री पौडेलले आर्थिक वर्ष २०८२/८३ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि सांसदहरुले राख्नुभएको जिज्ञासाको जवाफ दिनेछन्।
यसैगरी, आजको बैठकमा ‘संवैधानिक परिषद् (काम कर्तव्य, अधिकार र कार्यविधि)सम्बन्धी (पहिलो संशाधन) विधेयक, २०७९’ का सम्बन्धमा राष्ट्रियसभाबाट प्राप्त सन्देशसहितको विधेयक टेबुल गरिनेछ।
भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकमाथि छानबिन हुनुपर्ने मागसहित रास्वपा र राप्रपाले निरन्तर प्रदर्शन गरिरहँदा सभामुख र सत्ताधारी दलहरूले उनीहरूलाई पेलेरै अघि बढेका छन्।
सुरुवाती दिनमा माओवादी केन्द्रले पनि गृहमन्त्रीको राजीनामा र छानबिनको मागलाई अघि सारे पनि केही दिनअघिमात्र त्यो निर्णयबाट पछि हटेको थियो। तर रास्वपा र राप्रपाले भने गृहमन्त्री लेखकमाथि छानबिनको माग गरिरहेका छन्।
असार २, २०८२ सोमबार ०७:२०:३७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।