बजेटको विरोधमा संसद्को बाल्कोनीमा उभिए कांग्रेस सांसद बजगाईं

काठमाडौं : सत्तारुढ दल नेपाली कांग्रेसका सांसद राजेन्द्र बजगाईंले बजेटमा गोरखा जिल्लामाथि ‘अन्यायपूर्ण बेवास्ता’ भएको भन्दै संसदको बाल्कोनीमा उभिएर विरोध गरेका छन्।
आइतबार प्रतिनिधिसभाको बैठक चलिरहेको बेला उनी संसद भवनको बाल्कोनीमा पुगेर उठेर सरकारको बजेट नीति र योजनाप्रति विरोध जनाए।
बजगाईंले आफू गोरखाली जनताको प्रतिनिधि भएकाले बजेटमार्फत गरिएको विभेद सहन नसकिएको भन्दै पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालमाथि समेत प्रश्न उठाएका छन्। ‘भौतिक मन्त्रीले न प्रजातान्त्रिक मूल्य बुझ्नुभएको छ, न भूगोलको आवश्यक समझदारी छ। त्यसैले उहाँ न्यायसंगत बजेट वितरण गर्न नै अयोग्य देखिनुहुन्छ,’ उनले विज्ञप्तीमा भनेका छन्।
सांसद बजगाईंले पछिल्ला दुई आर्थिक वर्षमा गोरखाका लागि तय गरिएका करिब चार दर्जन बजेट शीर्षकहरू मन्त्री दाहालले एकलौटी ढंगले काटिदिएको आरोप लगाएका छन्।
सांसद बजगाईंले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सम्बोधन गर्दै भनेका छन्- ‘उहाँलाई गोरखा लुकेको कर्णाली हो भन्ने थाहा छ। बुढीगण्डकीजस्ता परियोजनाबारे अठोट पनि छ। तर आज बजेटमा विकासको दिशा गोरखा छेउछाउ पनि पुगेको छैन।’
राजेन्द्र बजगाईंले संसदको मर्यादाभित्र रहेर मात्रै होइन, आम नागरिकसामु पनि बजेटको विकृति विरुद्ध आफ्नो आवाज बलियोसँग उठाउने चेतावनी दिएका छन्।
असार १, २०८२ आइतबार १४:०७:२३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।