रास्वपाले नैतिकता देखाउन आफैंबाट सुरु गरोस : सांसद श्याम घिमिरे

काठमाडौं : नेपाली कांग्रेसका सांसद श्याम घिमिरेले रवि लामिछानेलाई पार्टी सभापति बनाएर राख्न रास्वपालाई कुन नैतिकता दियो भन्दै प्रश्न उठाएका छन्।
आइतबार प्रतिनिधिसभाको बैठकमा आकस्मिक समयमा बोल्दै उनले रास्वपामाथि प्रहार गरे। उनले भने, ‘रास्वपाले गृहमन्त्री रमेश लेखकको राजीनामा माग्दै संसद अवरुद्ध गरिरहेको छ। तर, आफैंले पाँचवटा अदालतमा ठगी, सम्पत्ति शुद्धीकरण र संगठित अपराधका मुद्दा खेपिरहेका, सर्वोच्चले थुनामा राख्न आदेश दिइसकेको व्यक्तिलाई सभापति बनाएको छ। त्यो नैतिकता कहाँबाट आयो?’
उनले थपे, ‘नैतिकताको पाठ सिकाउने हो भने रास्वपाले पहिलो पाठ आफैंबाट सुरु गर्नुपर्छ।’ रास्वपा र राप्रपाको विरोधकाबीच आइतबार प्रतिनिधिसभा बैठक सुरु भएको थियो। अवरोधको बीचमा बोल्दै घिमिरेले रास्वपाले दोहोरो चरित्र देखाएको भन्दै प्रश्न उठाए।
उनले संसद अवरोध गर्नु लोकतान्त्रिक अभ्यास भए पनि त्यसको आधार नैतिक र तर्कसंगत हुनुपर्ने बताए।
असार १, २०८२ आइतबार १३:२१:५४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।