संसद्को गतिरोध हटाउने प्रयासमा सभामुख, रास्वपा र राप्रपा ‘ब्याक’ नहुने संकेत

संसद्को गतिरोध हटाउने प्रयासमा सभामुख, रास्वपा र राप्रपा ‘ब्याक’ नहुने संकेत

काठमाडौं : संसद्को गतिरोध हटाउन सभामुख देवराज घिमिरेले लगातार वार्ता गरिरहेका छन्। शुक्रबारबाट माओवादीले संसद् चल्न दिएपनि रास्वपा र राप्रपा भने ‘ब्याक’ नहुने संकेत देखिएको छ। 

संसदमा जारी अवरोधको विषयमा सभामुख घिमिरेले आज बिहान रास्वपा कार्यवाहक अध्यक्ष डीपी अर्याल र राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनसँग छुट्टाछुट्टै छलफल गरे।

बानेश्वरस्थित आफ्नो कार्यकक्षमा कार्यवाहक अध्यक्ष अर्यालसँग भएको भेटमा सभामुखले संवैधानिक बाध्यताका कारण बजेटमाथि छलफल सुरु गर्नैपर्ने अवस्था रहेको भन्दै अवरोधको स्वरुप परिवर्तन गर्न अनुरोध गरे। साथै, उनले संसदलाई मर्यादित बनाउन सबै दलको भूमिका महत्वपूर्ण हुने भन्दै त्यसतर्फ ध्यान दिन आग्रह गरे।

कार्यवाहक अध्यक्ष अर्यालले भने संसदमा आफ्ना माग र असन्तुष्टि व्यक्त गर्न आफूहरू बाध्य भएको भन्दै अवरोध यथावत् रहने बताए। यद्यपि, उनले संसदलाई मर्यादित बनाउन आफ्नो पार्टी पनि प्रतिबद्ध रहेको स्पष्ट पारे।

गत शुक्रबार संसद बैठकमा भएको अवरोधका क्रममा केही गतिविधि संसदीय मर्यादाविपरीत रहेको भन्दै आज बिहान प्रमुख सचेतकहरूले सभामुखको ध्यानाकर्षण गराएका थिए।

त्यसैगरी, सभामुखले राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनसँग टेलिफोन संवाद गर्दै संसदको अवरोध हटाउन आग्रह गरे। सभामुखले अध्यक्ष लिङ्देनलाई संवैधानिक प्रक्रियाबारे जानकारी गराउँदै आफ्नो विषय उठाउने अवसर पाउने सुनिश्चिततासहित सदन सञ्चालनमा सहयोग गर्न आग्रह गरे।

संसदमा अवरोधका कारण बजेटमाथिको छलफल प्रभावित भइरहेका बेला सभामुखले अवरोध अन्त्य गरी मर्यादित र प्रभावकारी सदन सञ्चालनको पहल गरिरहेका छन्। आइतबार बिहान ११ बजे बस्ने भनिएको बैठक अहिलेसम्म बस्न सकेको छैन। 

शुक्रबार दुई बुँदे सहमतिसँगै प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्र संसद् अवरोध नगर्न सहमत भएसँगै गृहमन्त्री रमेश लेखकले संसद्मा बोल्न पाएका थिए।

भिजिट भिसा प्रकरणमा त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयका प्रमुख तीर्थराज भट्टराई अख्तियारको अनुसन्धानमा तानिएपछि प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रसहितका प्रतिपक्षी दलहरूले निरन्तर संसद् अवरोध गर्दै आएका थिए। 

जेठ १५ मा बजेट पेस गर्न अवरोध हटाएका प्रतिपक्षी दलहरू त्यसयता निरन्तर विपक्षमा उभिएपछि बजेटबारे संसद्मा बहस हुन सकेको छैन। शुक्रवार माओवादी केन्द्र र सत्ताधारी दलको तर्फबाट एमालेका प्रमुख सचेतकबीच सहमति भएसँगै संसद् बैठक त बस्यो तर अवरोधहीन भने हुन सकेन। शुक्रबारबाट प्रतिपक्षपनि दुई कित्तामा देखिएको छ। 

असार १, २०८२ आइतबार १२:२०:०२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।