देउवा पुत्र जयबिरबारे फेसबुकमा लेख्दा अधिवक्ता केसीविरुद्ध साइबर अपराधको मुद्दा

देउवा पुत्र जयबिरबारे फेसबुकमा लेख्दा अधिवक्ता केसीविरुद्ध साइबर अपराधको मुद्दा

काठमाडौं : फेसबुकमा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा परिवारमाथि स्टाटस लेखेको भन्दै अधिवक्ता सुजित केसीविरुद्ध मुद्दा दायर गरिएको छ।

शेरबहादुर देउवा र परराष्ट्रमन्त्री समेत रहेकी आरजु राणा देउवाका छोरा जयबिर सिंह देउवालाई ‘भ्रष्टाचारको पैसा सेतो बनाउने प्रपञ्च’ भन्दै फेसबुकमा स्टाटस हालेको उजुरी आएपछि केसीमाथि साइबर अपराध अन्तर्गत मुद्दा दायर गरिएको हो।

साइबर ब्यूरो भोटाहिटीको उजुरीका आधारमा काठमाडौं जिल्ला अदालतमा मुद्दा पुगेको हो। सुजित केसी नामको प्रोफाइलबाट केसीले जयबिरको फोटोसहित स्टाटस लेखेका थिए। उक्त स्टाटसले देउवा परिवारप्रति घृणा फैलाउने र बदनाम गर्ने उद्देश्य राखेको भन्दै उजुरी परेको थियो।

मोबाइल, फेसबुक लिंक र पोस्टको डिजिटल फरेन्सिक परीक्षणसमेत गरिएको साइबर ब्यूरोले जनाएको छ। अधिवक्ता केसीलाई पहिले पक्राउ गरी हाजिर जमानीमा रिहा गरिएको थियो। तर, जेठ २९ मा अभियोग पत्र दर्ता गर्दा उनी उपस्थित नभएको भन्दै अदालतमा फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ५७ अनुसार पक्राउ पुर्जी जारी गरिदिन माग गरिएको छ।

केसीले अनुसन्धानका क्रममा स्टाटस आफैंले लेखेको स्वीकार गरेका छन्। उनले लेखेको कुरा सत्य नहुन सक्छ भनेर स्टाटस डिलिट पनि गरेका थिए। 

यसअघि सोहि विषयमा पत्रकार दिल भूषण पाठकविरुद्ध पनि पक्राउ पुर्जी जारी भइसकेको छ। हाल उनी फरार छन्।

असार १, २०८२ आइतबार ११:४६:५८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।