भारतको उत्तराखण्ड राज्यस्थित केदारनाथ नजिकै हेलिकप्टर दुर्घटना, पाइलटसहित सात जनाको मृत्यु

एजेन्सी : भारतको उत्तराखण्ड राज्यस्थित केदारनाथको नजिकै रहेको गौरीकुण्डमा आइतबार बिहान एक हेलिकप्टर दुर्घटना हुँदा पाइलटसहित सात जनाको ज्यान गएको छ। दुर्घटनामा ज्यान गुमाउनेहरूमा एक बालक पनि रहेका छन्।
बिहान करिब ५:२० बजे आर्यन एभियसन कम्पनीको हेलिकप्टरले केदारनाथ मन्दिरबाट गौरीकुण्डका लागि उडान भरेको थियो। तर, उडानपछि केही समयमै हेलिकप्टर दुर्घटनामा परेको भारतीय सञ्चार माध्यमहरूले उल्लेख गरेका छन्।
उत्तराखण्ड सिभिल एभिएसन डेभलपमेन्ट अथोरिटीका अनुसार, हेलिकप्टरमा सवार यात्रीहरू उत्तराखण्ड, उत्तर प्रदेश, महाराष्ट्र र गुजरातका थिए। प्रारम्भिक अनुसन्धानअनुसार खराब मौसम नै दुर्घटनाको प्रमुख कारण मानिएको छ।
घटनापछि गौरीकुण्डबाट राष्ट्रिय विपद् प्रतिक्रिया बल र राज्य विपद् प्रतिक्रिया बलको टोली घटनास्थलतर्फ खटिएको छ। दुर्घटना स्थल दुर्गम र घनाजंगल क्षेत्रमा परेकोले उद्धार कार्यमा केही कठिनाइ भइरहेको बताइएको छ।
घटनाप्रति उत्तराखण्डका मुख्यमन्त्री पुष्करसिंह धामीले गहिरो दुःख व्यक्त गर्दै पीडित परिवारप्रति समवेदना प्रकट गरेका छन्। साथै, उनले राहत तथा उद्धार कार्यमा कुनै कसर बाँकी नराख्न सम्बन्धित निकायलाई निर्देशन दिएका छन्।
असार १, २०८२ आइतबार ०९:५७:१० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।