नेपाल-बङ्गलादेश व्यवसायिक विद्युत निर्यात सुरु, पाँच महिना विद्युत पठाइने

काठमाडौं : नेपालले आजदेखि व्यवसायिक रूपमा बङ्गलादेशमा विद्युत निर्यात सुरु गरेको छ। भारतको प्रसारण लाइन हुँदै बङ्गलादेशमा ४० मेगावाट विद्युत पठाउने कार्य आज राती १२ बजेदेखि सुरु भएको नेपाल विद्युत प्राधिकरणले जनाएको छ।
यो निर्यात त्रिशुली जलविद्युत केन्द्रबाट १८.६० मेगावाट र चिलिमे जलविद्युत आयोजनाबाट २१.४० मेगावाट विद्युत प्रयोग गरेर गरिएको हो। विद्युत् आपूर्ति नोभेम्बर १५ (कार्तिकको अन्तिमसम्म) सम्म निरन्तर हुनेछ।
नेपाल, भारत र बङ्गलादेशबीच विद्युत व्यापारका लागि गरिएको त्रिपक्षीय सम्झौताको फलस्वरूप यो व्यवसायिक निर्यात सम्भव भएको हो। गत वर्ष नेपालले पहिलोपटक अस्थायी रूपमा १२ घण्टाका लागि बङ्गलादेशमा बिजुली पठाएको थियो। तर यसपटक पाँच महिना लगातार विद्युत पठाइने भएको छ।
विद्युत प्रणाली नियन्त्रण विभागका उप–प्रबन्धक सुवर्ण सापकोटाका अनुसार यो अवधिमा कुल १४ करोड ६८ लाख ८० हजार युनिट विद्युत बङ्गलादेशमा निर्यात हुने अनुमान गरिएको छ।
ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले नेपालले वर्षायाममा उत्पादित अतिरिक्त विद्युत छिमेकी राष्ट्रलाई निर्यात गर्न थालेको यो क्षणलाई ऐतिहासिक भने। “बङ्गलादेशमा निर्यातले नेपाली ऊर्जा क्षेत्रको सम्भावनालाई पुष्टि मात्रै होइन, राष्ट्रको समृद्धिको दिशामा महत्वपूर्ण पाइला हो,” मन्त्री खड्काले भने।
नेपालले वर्षायाममा अतिरिक्त विद्युत भारतमा निर्यात गर्दै आएको छ। बङ्गलादेशसँग भएको नयाँ व्यापारिक समन्वयले अब निर्यातको दायरा फराकिलो बनाउने विश्वास गरिएको छ। साथै, मन्त्री खड्काले विद्युत् निर्यात नेपालका लागि आयात घटाउने र व्यापार घाटा कम गर्ने प्रमुख आधार हुने स्पष्ट पारे।
असार १, २०८२ आइतबार ०९:३६:२४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।