भिजिट भिसा र अग्नि सापकोटाको मुद्दाको सम्बन्ध नभएको प्रचण्डको दाबी

भिजिट भिसा र अग्नि सापकोटाको मुद्दाको सम्बन्ध नभएको प्रचण्डको दाबी

काठमाडौं : माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्तारुढ दलहरूसँग भएको सहमति पालना नभए एक महिनापछि फेरि विरोधमा उत्रिने चेतावनी दिएका छन्।

विराटनगर विमानस्थलमा शनिबार बिहान सञ्चारकर्मीसँग कुराकानी गर्दै अध्यक्ष दाहालले सदनबाट केही महत्त्वपूर्ण ऐन पारित गर्नुपर्ने भएकाले अहिले सहमति गरिएको बताए।

‘एकातिर सङ्घीय निजामती ऐन छिटोभन्दा छिटो पारित गर्नुपर्ने छ। लाखौँ शिक्षकको मागअनुसार विद्यालय शिक्षा ऐनलाई अन्तिम रूप दिनुपर्नेछ। टीआरसीसँग सम्बन्धित विषय अगाडि बढाउनुपर्ने छ’, उनले भने, ‘यस्तो वेला सदन अवरोधले निकास ननिस्कने हुँदा सहमतिमा गएका हौँ।’

प्रचण्डले भिजिट भिसा प्रकरणको निष्पक्ष छानबिन हुनुपर्नेमा आफ्नो जोड रहेको पनि बताए। उनले यस विषयमा गहिरो अध्ययन हुनुपर्ने र त्यसलाई सम्बोधन गर्नेगरी संरचना बन्नुपर्नेमा जोड दिए।

पार्टीका उपाध्यक्ष अग्नि सापकोटाको मुद्दासँग गृहमन्त्रीको राजीनामा साटेको हो भन्ने प्रश्नमा उनले यी दुईबीच कुनै साइनो नरहेको स्पष्ट पारे।

‘यो वाहियात कुरा मानिसहरूले प्रचार गर्ने गरेका छन्। त्यस्तो केही होइन’, उनले भने, ‘भिजिट भिसा प्रकरण र अग्नि सापकोटाको कुनै सम्बन्ध छैन।’

जेठ ३१, २०८२ शनिबार १०:२१:०४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।