मण्डनदेउपुरका चार उद्योग बन्द : कर नतिर्ने र दर्ता नभएकामाथि पालिकाको कारबाही

काभ्रेपलाञ्चोक : काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिकाले नियम पालना नगर्ने चार वटा क्रसर तथा इँटा उद्योग बन्द गरेको छ।
नगरपालिकामा दर्ता नभएका, कर नतिरेका र नवीकरण नगरेका ती उद्योगमाथि पटकपटकको ताकेताका बाबजुद अटेरी गरेपछि ताला लगाइएको हो।
नगरप्रमुख टोकबहादुर वाइबाको नेतृत्वमा स्थानीय जनप्रतिनिधि र सरोकारवाला निकायका प्रतिनिधि सम्मिलित अनुगमन टोलीले शुक्रबार (आज) ती उद्योगमा अनुगमन गरी बन्द गराएको छ।
टोलीले तीन वटा इँटा उद्योग र एउटा क्रसर उद्योगमा ताला लगाएको छ। नगरपालिकाका अनुसार, वडा नं ९ रायोबारीस्थित सेन्ट वासिङ एण्ड क्रसिङ उद्योगले आर्थिक वर्ष २०७८/०७९ देखि हालसम्म रु ४५ लाख ८४ हजार कर तिर्न बाँकी रहेकोले बन्द गरिएको छ।
त्यसैगरी, वडा नं ६ मा रहेका कालीदेवी इँटा उद्योगले रु ६१ लाख ८४ हजार र वडा नं ७ मा रहेको दक्षिणकाली इँटा उद्योगले रु ४५ लाख ८४ हजार कर तिर्न बाँकी रहेकाले ताला लगाइएको छ।
वडा नं ६ मै रहेको चण्डेनी-नगरकोट ब्रिक्स इण्डष्ट्रिज प्रालि भने नगर कार्यालयमा दर्ता नै नभएकाले बन्द गरिएको नगरले जनाएको छ।
नगरप्रमुख वाइबाले नगरको प्रावधानअनुसार पटक-पटक कर तिर्न आग्रह गर्दा पनि अटेरी गरेपछि बाध्य भएर कारबाही गरिएको बताए। उनले नगरले तोकेको मापदण्ड पूरा गरेपछि र तिर्न बाँकी कर बुझाएपछि मात्रै ताला खोलिने स्पष्ट पारे।
ताला लगाइएका उद्योगबाट नगरपालिकाको अनुमतिबिना कुनै पनि सामग्री बेचबिखन नगर्नसमेत निर्देशन दिइएको उनले जानकारी दिए।
जेठ ३१, २०८२ शनिबार १०:०१:४४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।